विचार- ऋषि सुनाक जस्तै सम्भावना बोकेको एउटा डाक्टर - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

विचार- ऋषि सुनाक जस्तै सम्भावना बोकेको एउटा डाक्टर



-नवराज पन्थी

यतिबेला सबैभन्दा बढी चर्चाको शिखरमा छन् ऋषि सुनाक । संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषिले इतिहासमा धेरैबटा रेकर्ड राखेका छन् । उनी भारतीय मुलका व्यक्ति हुन् भने राजनीतिमा लागेको छोटो समयमै प्रधानमन्त्री बनेका व्यक्ति समेत हुन् । ४२ वर्षीय ऋषिको अर्को फरक संयोग पनि छ । उनी पहिलोपटक प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित भएको दुई महिना नबित्दै आफै प्रधानमन्त्रीमा निर्वाचित बनेका छन् ।

अक्सफोर्ड र स्टान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयमा पढेका र गोल्डम्यान स्याकजस्ता विश्वकै ठूला ब्याङ्किङ् संस्थामा काम गरेका ऋषि राजनीतिमा जोडिएको प्रसङ्ग पनि निकै रोचक छ । हाम्रो जस्तो राजनीति भएको देशमा उनी राजनीतिमा छिरेको प्रसङ्ग अनौठो नै हुन्छ ।

उनले राजनीतिमा लाग्ने इच्छा गरेपछि बेलायतको ठूलो र पुरानो दल कन्जरभेटिभले सजिलै टिकट दिएको थियो तर नेपालमा भने उठ्न खोज्ने विज्ञहरूलाई समेत निरुत्साहित गरिन्छ । राजनीतिमा आउन खोज्नेलाई रोक्न अनेक तिगडम गरिन्छ । नेताहरूले आफ्नो भागै गुमेजस्तो महसुस गर्छन ।

सुनाकलाई जिते जितिहालोस् न त भनेर कन्जरभेटिभले टिकट दिइएको पहि होइन । उनले चुनाव लड्ने इच्छा गरेपछि कन्जरभेटिभ पार्टीका प्रमुखले लड्ने क्षेत्रबाट चुनाव लडाईएको थियो । अत्यन्त सुरक्षित मानिएको क्षेत्रबाट चुनाव लडाएर कन्जरभेटिभले उनलाई जिताएको थियो ।

कन्जरभेटिभ पार्टीकै तत्कालिन प्रमुखले चुनाब जित्दै आएको सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्रमा उनलाई पठाएर निकै ठूलो चुनौती पार्टीले उठाएको थियो । हाम्रो देशमा जस्तो उनको अनुहार, पैसा र उमेर चै त्यहाँ हेरिएन । पार्टीले उनको योग्यता मात्रै हेर्यो र उनी पार्टीमा जोडिनुलाई नै गौरव मानेर अवसर दिएको थियो ।

उनी पार्टीमा जोडिएपछि बेलायतमा संकटको अवस्था आएको थियो । खासगरी ईयुबाट अलग्गिने निर्णयपछि बेलायतको अर्थतन्त्रमा ठूला-ठूला समस्या आए ।

बेलायतको अर्थमन्त्रालय सम्हालेपछि उनले देखाएको चातुर्यताले त्यहाँको अर्थतन्त्रमा निकै ठुलो योगदान भयो । धेरै दिग्गज नेताहरूलाई पछाडी पारेर अर्थशास्त्री ऋषि बेलायतका अर्थमन्त्री बनाइएका थिए ।

पहिलो इयुबाट अलगिने निर्णय अर्को कोभिड़ महामारी । यस्ता विशाल संकटमा उनको योग्यताले गरेका काम सम्झन योग्य छन् । लाखौ व्यापारव्यवसाय र रोजगारी डुब्नबाट बचाएका उनले चौतफी वाहवाही कमाए । उनकै योग्यताका कारण पार्टीको समेत एकाएक लोकप्रियता चुलिएको थियो ।

ऋषिको दक्षता, भिजनलाई बेलायतमा निकै सहराइयो । त्यहि क्षमताका कारण आज राजनीतिमा लागेको सात वर्षमै उनी पार्टी प्रमुख बने । प्रधानमन्त्री पनि बने ।

चौतर्फी संकटमा परेको बेलायतलाई ऋषिको जति खाँचो थियो, आज नेपाललाई त्यस्तै योग्य, विज्ञ र अनुभवी नेताको खाँचो छ । हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र स्वास्थ्यप्रणाली ध्वस्त छ । देशलाई सक्षम, शिक्षित र विज्ञ नेताको अत्यन्त खाँचो देखिएको छ । यसै प्रसङ्गमा जोड्न लायक एक युवा छन् । रुपन्देही २ बाट निर्वाचन लड्ने तयारी गरेर राजनीतिमा होमिएका एक डाक्टर हुन् निकोलस भुसाल । उनी ठ्याक्कै ऋषि सुनाक जस्तै त नहोलान, तर अबको सात वर्षमा ऋषि जत्तिकै पोजिसनमा पुग्न भने सक्छन । कोरोनाकालमा उनले गरेका काम, विज्ञानको क्षेत्रमा उनले अहिलेसम्म गरेका अभियान, स्वास्थ्य क्षेत्रमा गरेका कार्यक्रम, वातावरण संरक्षणमा गरेको योगदान र पढाईमा देखिएको उनको अब्बलताले उनलाई पुष्टि गर्छ ।

राजनीतिमा उनले देखेका सम्भावना, देशको कायापलट गर्ने योजना र उनले बोकेका एजेन्डाले पनि उनी देशको लागि आवस्यक छन् । नेपालकै स्रोत साधनको प्रयोग गरेर कसरी देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने उनीसंग स्पष्ट खाका छ । नेपाललाई शान्तिको राजधानी बनाउने, तीन वर्षभित्रमा राष्ट्रको ऋण तिर्नसक्ने, पाँच वर्षभित्रमा शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने, दस वर्षमा समृद्ध मुलुक बनाउन सकिने उनका योजना देशका लागि आवस्यक छन् ।

ऋषि जस्तै उनी दोस्रो मुलका होइनन, आफ्नै जन्मभूमी बनाउँछु भन्ने आठोत उनले बोकेका छन् । एउटा भारतीय विज्ञले बेलायत बनाउन सक्छ भने एउटा सम्भावना बोकेको नेपाली युवाले देश बनाउन किन सक्दैन ?

तर बिडम्बना के छ भने, यस्ता योजना बनाएर राजनीतिमा होमिएका उनलाई राजनीतिमै छिर्न नदिने षड्यन्त्रको शिकार बनेका छन् । एमडी गर्दै गरेका डा. भुसाललाई रोक्न पुराना नेताहरू नै हात धोएर लागिपरेको देख्दा ‘सतीले सरापेको देश’ बन्ने कथन याद आउँछ । युवाहरूले राजनीतिमा देखाएको चासेले पुराना र विवादित नेताहरूको निन्द्रा नै हराम बनेको यसै प्रसंगबाट पुष्टि हुन्छ ।

ऋषिलाई जस्तै अवसर दिने राजनीतिक कल्चर नेपालमा नभएपनि निर्वाचन लड्ने प्रक्रियाबाटै भने उनलाई बन्चित नगर्नुपर्ने थियो । निकोलसलाई चुनाव लड्न दिएर उनको विज्ञता परिक्षण गरिनुपर्ने हो । एक्लै खटिएर जित्छु र देशका लागि काम गर्छु भन्दै आउने युवालाई यसरी गरिने निरुत्साहनले भोलि अर्कै रुप नलेला भन्न सकिन्न ।