रोचक प्रसङ्ग: भारतीय मुलका सुनाक ७ वर्षमैं कसरी बने बेलायती प्रधानमन्त्रीको दाबेदार ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रोचक प्रसङ्ग: भारतीय मुलका सुनाक ७ वर्षमैं कसरी बने बेलायती प्रधानमन्त्रीको दाबेदार ?



-नारायण गाउँले

भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि शुनाकलाई पछि पार्दै लिज स्ट्रस सत्ताधारी बेलायती कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएकी छन् । पार्टी नेता नै प्रधानमन्त्री बन्ने हुनाले उनी नयाँ प्रधानमन्त्री बन्नेछिन् ।

पार्टीको सर्वोच्च नेतृत्वमा चुनिन नसके पनि युवा नेता ऋषिले झन्डै ४३% पार्टी सदस्यको मत पाए । नेपालको जस्तो निर्वाचन प्रक्रिया भएको भए ऋषि शुनाक सजिलै प्रधानमन्त्री छनिने थिए । नेपालमा पार्टी प्रमुख नभए पनि संसदीय दलको नेता भए पुग्छ । शुनाकले पनि पार्टीका सांसदहरू बीच भएको स्पर्धामा निरन्तर लिज स्ट्रस भन्दा धेरै मत पाएका थिए ।

पार्टीको नयाँ नेतृत्व चुन्ने अभ्यास पनि गज्जपको छ । पार्टी नेता हुन सांसद हुनै पर्छ । निश्चित सांसदको समर्थन भएपछि नेतृत्वको स्पर्धामा उठ्न पाइन्छ । दुई या दुई भन्दा बढ़ीले दाबेदारी गरेमा ती बीच पार्टी सांसदले भोट गर्छन् । अन्तिम दुई प्रतिष्पर्धी नबचुन्जेल विभिन्न चरणमा भोट हुन्छ र क्रमशः उम्मेदवार बाहिरिन्छन् । सांसदहरूले चुनेर दिएका अन्तिम दुईबीच पार्टीका आम सदस्यले मतदान गर्छन् र त्यसमा बढ़ी मत ल्याउने व्यक्ति नेता हुन्छ ।

सामान्यतया कन्जरभेटिभ पार्टीलाई अनुदारवादी मानिन्छ । तर, अचम्म के रह्यो भने यो पार्टीका अधिकांश सांसदले प्रतिभाशाली मानिएका ऋषि शुनाकलाई भोट दिए । अन्य स्थापित र पुराना नेतालाई आउट गर्दै ऋषिलाई अन्तिम दुईमा छनोट गरे । पार्टीका ४३% सदस्यले सम्मानजनक मत दिए । पुरानो र शक्तिशाली पार्टीमा ६-७ वर्षमैं एउटा प्रवासी मूलको व्यक्ति नेतृत्वको होड़मा उभिनु आफैमा रोचक रह्यो ।

युवा र नयाँ भए पनि उनको योग्यता र क्षमताका कारण ऋषि शुनाक अन्य सिनियर नेतालाई पछि पार्दै बेलायतको अर्थमन्त्री बनेका थिए । विश्वकै ठूला मध्येको एक अर्थतन्त्र हाँक्न पाउनु र नेतृत्वको होड़मा बलियो दाबेदार बनेर खड़ा हुनु सानो उपलब्धि होइन । संयोग नै भन्नुपर्छ, अहिलेका बेलायती अर्थमन्त्री समेत आप्रवासी मूलका नै हुन् । इराकबाट शरणार्थीका रूपमा भित्रिएका नदीम जहावी अहिले बेलायती अर्थमन्त्री छन् । शुनाकअघि पनि पाकिस्तानी मूलका व्यक्ति अर्थमन्त्री थिए ।

धेरैले विदेशी मूलको भएकाले ऋषि शुनाकले पराजय बेहोरेको तर्क गरेका छन् । यसमा सत्यको मात्रा होला पनि, तर उनले राजनीतिमा छोटो समयमैं पाएको ठूलो अवसर, पार्टीका बहुमत सांसदको खुला समर्थन र पार्टी सदस्यकै पनि ४२% भन्दा बढ़ी मतलाई पनि कम आँक्न मिल्दैन ।

कुनै बेला महिलाले भोट हाल्न समेत नपाउने बेलायतमा लिज स्ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्नेछिन् भने उनलाई बेलायतकी महारानीले आफ्नो कार्यकालको १५औं प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नेछिन् ।

लेखक: नारायण गाउँले