कोरोना संक्रमण: रोगभन्दा भ्रम घातक छ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कोरोना संक्रमण: रोगभन्दा भ्रम घातक छ



-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

-कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् । समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् । अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ । यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन ।

-यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु । विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ । यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो । हामी नेपाली निकै भाग्यमानी हौँ । अहिलेसम्म हामीले यो समस्यासंग पीडाजनक युद्ध गर्नुपरेको छैन ।

-सुरुमै कोरोना संक्रमण नेपालमा आएको भए हाम्रो अकल्पनीय क्षति हुने थियो । यो ढिलाइको कारण हामीले प्रशस्त अनुभव गर्न पायौं, संसारको पीडा बुझ्न पायौं, रोकथामका नयाँ नयाँ उपाय अबलम्बन गर्न पायौं, यसको घातक प्रभाव थाहा पायौं, मास्क / स्यानिटाइजर तथा खाधान्नको अभाव नेपालमा मात्र हैन बिकसित देशमा पनि हुँदोरहेछ भन्ने तथ्य थाहा पायौं । अर्थात मानसिक र भौतिक तयारी गर्ने समय पायौं ।

-सरकारले स्टेप बाइ स्टेप कदम चल्न पायो । लक डाउनको लागि मानसिक रुपमा सरकार र जनता तयार भयौं । सरकारको शक्ति र कमजोरी थाहा पायौं । थाहा पाउनु भनेको समाधानको बाटोमा हिंड्नु पनि हो ।

-कोरोना संक्रमण त्यति घातक रोग हैन । यो छिट्टै फैलिन्छ तर रुघाखोकी जस्तै कम खतरनाक छ । उदाहरणको लागि आजको दिनसम्म विश्वमा १२६१२० जना अर्थात् 95 % मा सामान्य लक्षण देखिएका छन् ,जुन आराम / झोलिजो खाना तथा लाक्षणिक उपचारले ठिक हुन्छन भने ६९४२ जना अर्थात ५ % मा मात्र गम्भीर लक्षण देखिएका छन् । ती ५ % मा पनि एकदम थोरैको मृत्यु हुन्छ । त्यो मृत्यु ‘ मृत्युको डिलमा पुगेका ‘ व्यक्तिको मात्र हुन्छ ।

-यो रोग बिकसित देशमा धेरै फैलिएकोले लाखौँ अनुसन्धान, औषधि तथा खोपमा प्रगति एबम आपसी हातेमालो सार्थक भइरहेको छ । औषधि तथा खोपको प्रयोग धनी देशबाट सुरु भएको छ ।

-धेरैलाई भ्रम छ कि ब्लडप्रेसर र सुगर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा छ भन्ने । त्यो अल्प सुचना मात्र हो । जन्मजात मधुमेह भएका, मधुमेहको अन्तिम स्टेजमा पुगेर किड्नी लगायतका अंग खराब भएका तथा ब्लडप्रेसर हुँदै मुटुको असाध्य रोग लागेका व्यक्तिलाई जोखिम छ भनेको हो । सामान्य ब्लडप्रेसर र मधुमेह भएका एबम औषधिले प्रेसर र सुगर नियन्त्रण भएका व्यक्तिलाई जोखिम छैन ।

-बालबालिकालाई जोखिम भनिएपनि अहिलेसम्म विश्वको डाटा हेर्ने हो भने नगन्य रुपमा यसको घातकता देखिएको छ । सय बर्ष काटेका धेरै बुढाबुढी यो रोगबाट सजिलै निको भएका छन् । तसर्थ जोखिम बर्ग जनरलाइज गर्नु हुँदैन । त्यसलाई भयो भने मलाइ पनि हुन्छ भन्ने छैन । हरेक व्यक्ति फरक फरक हो । यो मौलिकता हामीले बुझ्नुपर्छ ।

-मास्क, स्यानिटाइजर लगायतका सामान हुँदा राम्रो हो तर नहुँदा पनि केहि असुरक्षित महशुष गर्नुपर्दैन । कोभिड – १९ बाट बच्ने अचुक उपाय भनेको घरमै बस्ने, हात धोइरहने तथा आफुलाई शारीरिक एबम मानसिक रुपमा बलियो बनाउने नै हो ।

-महामारी तथा प्राकृतिक बिपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट कुरा तथा अनधिकृत बिषयले धेरैलाई पीडा दिएको हुन्छ । रोग लाग्नु भन्दा पहिले विक्षिप्त हुनु भनेको आफुले आफ्नो लागि खाल्डो खनेर खस्नु जस्तै हो ।

-हाम्रो देशमा कोरोना संक्रमण ब्यापक भयो भने ती व्यक्ति सजिलै बाँच्नेछन् जो मानसिक रुपमा बलिया हुन्छन । शरीर गाडी हो भने मन त्यसको ड्राइभर हो । ड्राइभर विक्षिप्त भयो भने जस्तो सुकै बलियो गाडी भए पनि दुर्घटनामा पर्छ । हामी सबैले मन बलियो बनाऔं ।