शन्यास लिएर हलिउडमा काम गर्ने रोनाल्डोको घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शन्यास लिएर हलिउडमा काम गर्ने रोनाल्डोको घोषणा



एजेन्सी- पोर्चुगल एवं इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सक्रिय फुटबल जीवनबाट शन्यास लिएर आफू फिल्म क्षेत्रमा प्रवेश गर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमार्फत उनले शन्यास लिएपछि हलिवुडमा काम गर्ने बताएका हुन् ।

उमेरले ३४ काट्न लागेका रोनाल्डो बास्तवमा फुटबलबाट टाढिने बेला भएको छ । तर, मैदानमा उनले उमेरलाई भुलाउने प्रदर्शन गरिरहेका छन् ।

दुबई स्पोर्ट्सले आयोजना गरेको पत्रकार सम्मेलनमा रोनाल्डोले फुटबलबाट सन्यास लिएपछि आफ्नो रोजाई फिल्म क्षेत्र भएको बताए ।

‘फुटबलमा पहिला ३० देखि ३२ बर्षसम्म खेल्ने उमेर मानिन्थ्यो । अब यो ४० बर्ष सम्म हुनसक्छ,’ रोनाल्डोले आफ्नो उमेरलाई आधार मान्दै रोचक जवाफ दिएका छन् । रोनाल्डोले आफु फुटबलमा अझै लामो समय रहने र त्यसपछि ‘हलीउड फिल्म’ मा सक्रिय रहने बताए । रोनाल्डोको यस भनाइलाई लिएर ‘इन्डीया टुडे’ ले पनि समाचार प्रकाशन गरेको छ ।

‘फुटबल मैदानमा शरिरले मागुन्जेल फुटबल खेल्नेछु । मैले फुटबलमा अझै धेरै गर्न बाँकी छ । त्यसपछि फुटबल बुट थन्क्याएर फिल्म क्षेत्रतिर जानेछु,’ रोनाल्डोले भने ।

पाँच पटकका बालोन डी’ ओर विजेता रोनाल्डो युरोपका सबै खाले शीर्ष लिग खेल्ने खेलाडी हुन् । विश्व फुटबलका सबै खाले उपाधि चुमेका रोनाल्डो क्लब फुटबलमा पनि माहिर छन् । पछिल्लो समय ‘जहाँ रोनाल्डो त्यही उपाधि’ उखान उनका लागि बनेको छ ।

उनी स्पेनको रियल म्याड्रिडमा नौ बर्ष विताएर अघिल्लो सिजनको सुरुवातमै युभेन्ट्स पुगेका थिए । रोनाल्डो युभेन्ट्स पुगेकै बर्ष क्लबले लिग जित्यो । अहिले पनि युभेन्ट्स पुरानै लयमा छ । रोनाल्डोले उस्तै जोसका साथ खेलिरहेका छन् ।

रोनाल्डोले आफु अझै ५० बर्ष बाँच्ने र फरक चुनौतीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । सँधै फिट र उस्तै प्रदर्शन गरिरहेका रोनाल्डोले आफ्नो सफलताको पछाडि मिहेनत, ब्यायाम र बाँच्ने तरिका भएको स्पस्ट पनि पारेका छन् ।

त्यही मिहेनतका कारण रोनाल्डो मैदानमा विपक्षीलाई दबाबमा राखेर खेल्न सक्छन् । उनले अघिल्लो साता इटालियन सिरि एमा साप्पडोरियाविरुद्ध २.५६ मिटर माथि उफ्रिएर हेड गोलगर्दै सन्सारलाई छक्क पारे । रोनाल्डोको यस गोललाई अहिले ‘बास्केटबल गोल’ को नामले चर्चा र ब्याख्या भइरहेको छ ।