बिचरा रोनाल्डो ! करियर के होला ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बिचरा रोनाल्डो ! करियर के होला ?



काठमाडौं । स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलका कोचले एउटा जोखिमपूर्ण निर्णय लिए, स्टार खेलाडी क्रिष्टियानो रोनाल्नोलाई बेञ्चमा राख्ने ।

रोनाल्डोलाई बेञ्चमा राखेर उनको स्थानमा २१ वर्षीय गोन्कालो रामोसलाई मैदानमा उतारिएको विषयले निकै चर्चा पायो । त्यो दिनको खेलभन्दा बढी रोनाल्डोलाई बेन्चमा राखिएको विषय चर्चामा आयो ।

कोच सान्तोसले रोनाल्डोको स्थानमा युवा खेलाडी गोन्कालो रामोसलाई मौका दिँदा निकै आलोचना भयो । धेरैले उनलाई पागल भने तर परिणामले उनको निर्णय उचित भएको प्रमाणित भयो ।

पछिल्लो समय स्टार खेलाडी ३७ वर्षीय रोनाल्डोको आत्मसम्मानमा एकपछि अर्को चोट लागेको छ । म्यानचेस्टर युनाइटेडसँग उनको झगडा पर्यो । अहिले पोर्चुगल टोलीले कल्पना गर्न नसकिने गरी उनलाई बेञ्चमा राखेको छ ।

यसअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि रोनाल्डोको आवश्यकता नरहेको बताएको थियो । कतारमा जारी विश्वकपमा बाहिर राखेर पोर्चुगलले पनि उनको आवश्यकता नरहेको स्पष्ट संकेत गरेको छ ।

निकै जोखिम मोलेर पोर्चुगलका प्रशिक्षकले रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेका थिए । जुन सफल भएको छ ।

पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोल अन्तरमा हराएको छ । अब पोर्चुगलले विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

पक्कै पनि विश्वकपमा खेलाडी छनोटको सन्दर्भमा यो सबैभन्दा साहसी निर्णय थियो। यो पोर्चुगलको प्रशिक्षकको रूपमा सान्तोसको आठ वर्षको कोचिङ करियरको सबैभन्दा ठूलो र चुनौतीपूर्ण निर्णय भएको बताइन्छ ।

यदि पोर्चुगल हारेको भए विश्वकपबाट बाहिरिनुको दोष क्रिस्टियानो रोनाल्डोलाई नभई सान्तोसलाई पर्ने थियो ।

यसका बाबजुद पनि सान्तोस दृढ रहेको खेल अवधिको उनको चेहराले बताइरहेको थियो । अर्कोतर्फ, खेलमा पोर्चुगल थप चुस्त र खतरनाक देखियो। यस्ता खेलहरूमा सबैको नजर प्रायः रोनाल्डोको उपस्थितिमा हुन्छ।

स्वीट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलले बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डिसजस्ता मिड फिल्डरको भरमा उत्कृष्ट खेल प्रदर्शन गर्यो ।

रोनाल्डोको स्थानमा खेल्न मैदान प्रवेश गरेका रामोसमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने चुनौती थियो । जसलाई उनले कुशलतापूर्वक निभाए ।

यसअघि अलिक दबिएर खेलिरहेका निकै प्रतिभाशाली जोआओ फेलिक्स पनि रोनाल्नोलाई बेञ्चमा राखेर सहभागी बनेको खेलमा खुलेर खेलिरहेको देखिन्थे ।

रामोसको ह्याट्रिक एकदमै सानदार रह्यो । पोस्ट् फिनिशको नजिकबाट गोलहरू भए ।

यो खेलअघि रोनाल्डोले विश्वकपको नकआउट फुटबलमा ५१४ मिनेट खेलेका थिए । तर उनको नाममा एक गोल पनि गरेको रेकर्ड छैन । तर रामोसले मात्रै ६७ मिनेटमा ३ गोल गरे ।

यस क्रममा क्यामेराको नजर रोनाल्डोको अनुहारका हरेक भावमा परेको थियो । पोर्चुगलको राष्ट्रिय गान सकिएलगत्तै उनलाई सयौं क्यामेराम्यानले घेरेका थिए ।

उनको अनुपस्थितिमा पोर्चुगलको टोलीले स्विट्जरल्याण्डलाई नराम्रोसँग हराएर आफूलाई साबित गरेको छ भन्ने कुरा यी क्षणले बताइरहेको थियो ।

पोर्चुगल ५–१ को अवस्थामा पुगेपछि रामोसलाई धन्यवाद दिँदा लुसेल रंगशाला रोनाल्डो–रोनाल्डोको आवाज सुनिन थाल्यो । गोल गरेपछि रोनाल्डोले ‘सियु–सियु’ भन्दै खुशी मनाए । उनको सिग्नेचर स्टाइलले रंगशाला गुन्जिरहेको थियो ।

तिनीहरूमध्ये अधिकांश स्विस प्रशंसक हुनुपर्छ, जो सायद सान्तोसले रामोसलाई हटाउनेछन् भन्ने आशा गरिरहेका थिए, जुन उनीहरूको टोलीको लागि विपत्ति बनेको थियो।

यो खेलमा छोटो समयका लागि सान्तोसले रोनाल्डोलाई मैदान प्रवेश गराउने सम्भावना थियो । जुन पोर्चुगलका युवा स्ट्राइकर राफेल लियोले अन्त गरिदिए । जब रेफ्रीले खेल सकिएको संकेत गर्दै सिट्टी फुके रोनाल्डोले खुसीयाली मनाए ।

यस प्रतियोगितामा रोनाल्डोले अझै निर्णायक योगदान दिने सम्भावना भने टरिसकेको छैन । यद्यपि मोरक्कोविरुद्धको खेलमा उनी पहिलो ११ खेलाडीमा देखिने छैनन् ।

कुनै समय रोनाल्डोलाई पोर्चुगलको भविष्य भनिन्थ्यो । तर ती अब विगत बनेका छन् । रामोस र लियोजस्ता ताराको भविष्य अब चम्किलो हुने देखिन्छ । प्रश्न छ, के रोनाल्नोको खेल करिअर अब समाप्त हुन लागेको हो ?