रोनाल्डोको अर्को ह्याट्रिक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रोनाल्डोको अर्को ह्याट्रिक



एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याएका छन् ।

रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लिथुयानियालाई ६–० ले पराजित गर्यो । जीतसँगै युरो २०२० मा छनौट हुनका लागि पोर्चुगल अब मात्र एक जीत टाढा रहेको छ ।

लक्जम्बर्गबिरुद्ध आइतबार दुई गोल गर्न सफल भए ३४ वर्षीय युभेन्टसका फरवार्ड अन्तर्राष्ट्रिय खेलमा १ सय गोल गर्ने मात्र दोस्रो खेलाडी बन्नेछन् ।

रोनाल्डोले खेलको सातौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि २२ औँ मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पिज्जी, गोन्क्यालो पासिएन्सिया र बर्नान्डो सिल्भाले एक–एक गोल थपे ।

त्यसपछि खेलको ६५ औँ मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरे ।

पोर्चुगलका लागि रोनाल्डोको यो नवौँ ह्याट्रिक हो । जसमध्ये सातवटा उनले ३० वर्ष पार गरेपछि पूरा गरेका हुन् ।

योसँगै इरानका अली देइले किर्तिमानी १०९ गोलभन्दा अब रोनाल्डो मात्र ११ गोलले टाढा रहेका छन् ।

यसअघि, युभेन्टसका लागि रोनाल्डो लागातार दुई खेलमा सब्सिटिट्युट भएका थिए । म्यानेजर माउरिजियो सारीले रोनाल्डोको घुँडामा समस्या देखिएको बताएका थिए ।

तर, पोर्चुगलका म्यानेजर फर्नान्डो सान्तोसले भने रोनाल्डोको स्वास्थ स्थितिबारे आफूलाई कहिल्यै पनि शंका नरहेको बताउँदै भने, ‘अब त रोनाल्डोले जे गरे पनि मलाई आश्चर्य लाग्दैन ।’

आइतबार लक्जम्बर्गलाई पराजित गरे डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरोपिन च्याम्पियनसीपका लागि छनौट हुनेछ ।

समूह बीको विजेताको रुपमा युक्रेनले यसअघि नै प्रतियोगितामा स्थान बनाइसकेको छ । सर्बियाले लक्जम्बर्गलाई ३–२ ले हराउँदै प्रतियोगतामा छनौटको सम्भावना कायम नै राखेको छ ।

समूहमा ७ खेलबाट युक्रेनको १९ अंक रहेको छ भने पोर्चुगलको १४ र सर्बियाको १३ अंक रहेको छ । लक्जम्बर्गको ४ अंक छ भने लिथुयानियाको मात्र १ अंक रहेको छ ।