कसरी भइन् रोशनी शाही युटर्न ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कसरी भइन् रोशनी शाही युटर्न ?



काठमाडौँ — यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

स्रोतबाट प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि ८:२५ मा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् । प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भइन् । शाहीले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत खालको अन्तर्वार्ता मंगलबार दिइन् । उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन् । मंगलबार दिनभरजसो मोबाइल फोन अफ गरेर सम्पर्क बाहिर रहेकी शाहीले अन्तर्वार्ता दिएपछि मात्रै आफ्नो मोबाइल अन गरेकी थिइन् । उनले बयान फेरेको विषयमा मंगलबार राति कान्तिपुरले उनीसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के । आ–आफ्नो काम गर्नुस् ।’

शाहीले बुधबार साँझ महानगरीय प्रहरी वृत्त बानेश्वरमा लिखित निवेदन दिँदै आफूमाथि यौन दुर्व्यवहार भएको भनी मिडियामा आएको कुरामा सत्यता नरहेको उल्लेख गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार उनले निवेदनमा डिप्रेसनका बेला होसमा नभएर मिडियामा बोलेको जनाएकी छन् । शाहीले ४८ घण्टाभित्रै किन बयान फेरिन् भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीले चासो देखाएको छैन । यसबारे राज्यका अन्य निकायले पनि चासो लिएको देखिँदैन । बरु उनी असुरक्षित हुन सक्ने वा भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाडौंले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ ।

यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने मंगलबार बिहानपछि अपराह्न ४ बजेसम्म महिला सम्पर्कबाहिर रहेको र त्यही समयमा उनी आफ्नो बयान फेर्न दबाबमा परेको हुन सक्ने सुनाए ।
घटना सार्वजनिक भएपछिको अवधिमा शाही परिवार वा नातेदारको साथमा नहुनु र महरासँग निकट व्यक्तिहरूको सम्पर्कमा पुग्नुबाट पनि उनी दबाबमा परेको आशंका जन्मिन्छ ।

अपराध पीडित संरक्षण ऐन २०७५ ले पनि पीडितलाई राज्यले नै संरक्षण दिनुपर्ने व्यवस्था गरेको छ । उक्त ऐनको दफा १० मा पीडितलाई अभियुक्त, कसुरदारबाट पीडित वा पीडितमा आश्रित व्यक्तिविरुद्ध हुन सक्ने आक्रमण, क्षति, डर, त्रास, धम्कीबाट सुरक्षित हुन पाउने अधिकारको व्याख्या गरिएको छ । तर शाहीले राज्यबाट यस्तो सुरक्षाको प्रत्याभूति पाएको देखिँदैन । काठमाडौं बाहिर रहेका उनका श्रीमान्ले पनि घटनाको सन्दर्भमा साथ दिएको देखिँदैन । बरु उनका श्रीमान् घटना सार्वजनिक भएपछि निरन्तर महरा र उनी निकटका मान्छेसँग सम्पर्कमा रहेको र घटना मिलाउने आश्वासन आरोपित पक्षलाई दिएको देखिन्छ ।

अधिवक्ता मिरा ढुंगानाले आफ्नो समस्याबारे प्रहरीलाई मौखिक जानकारी गराएपछि पीडितलाई संरक्षण गर्नु राज्यको दायित्व हुने बताइन् । उनले यो घटनामा पीडित मानसिक दबाबमा परेको र राज्यबाट पाउनुपर्ने सुरक्षा नपाएको बताइन् । ‘प्रतिवादी पक्ष शक्तिशाली व्यक्ति हुनेबित्तिकै पीडितलाई खुल्न, आफ्नो भनाइमा टिकिराख्न गाह्रो हुने गर्छ,’ उनले भनिन्, ‘झन् यो घटनामा त पीडितलाई श्रीमान्बाटै पनि साथ नभएको देखिन्छ ।’ पीडितले बयान किन फेरिन् वा त्यस निम्ति उनलाई क–कसले कसरी बाध्य पार्‍यो भन्ने विषय अर्को अनुसन्धानको विषय भएको ढुंगानाले बताइन् ।

प्रहरीले लिखित जाहेरीलाई प्राथमिकता दिएको र महिलाले एक सयमा खबर गरेपछि राजनीतिक नेतृत्वलाई घटनाबारे जानकारी गराएर आदेश पर्खिने शैली अपनाएको देखिन्छ । अधिवक्ता ढुंगानाको बुझाइमा पीडितले जानकारी टिपाउनु नै सबैभन्दा बलियो प्रमाण मान्दै अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा प्रहरी चुकेको छ ।

मंगलबार आफ्नो पूर्वभनाइसँग बाझिने गरी नागरिकखबर डटकमलाई अन्तर्वार्ता दिनुअघि शाही सामाखुसी क्षेत्रमा पुगेको देखिन्छ । त्यहाँबाट सोह्रखुट्टेस्थित एक आफन्तको घरमा बसेर उनले आफ्नो पूर्ववत् भनाइ बदलेर अन्तर्वार्ता दिएकी थिई । सशस्त्र द्वन्द्वकालदेखि नै तत्कालीन माओवादीबाट भूमिगत राजनीति गरेका शाहीका श्रीमान् पछिल्लो समय पनि उच्च तहका नेताहरूसँग सम्पर्कमै थिए । उनी शक्ति बस्नेत गृहमन्त्री भएका बेला सचिवालयमा कार्यरत समेत थिए । शाहीको युटर्नमा उनका श्रीमान् र महराका निकट केही व्यक्तिको भूमिका हुनसक्ने देखिन्छ । कान्तिपुरकर्मीसँग बुधबार बिहान पनि शाहीले घटनाबारे पत्रकार सम्मेलन गर्ने बताएकी थिइन् । उनले पत्रकार सम्मेलनको तयारी अरू कसैले गरिरहेको संकेत गरेकी थिइन् तर विस्तृत खुलाइनन् ।

पीडितले लिखित जाहेरी नदिएको भन्दै प्रहरीले पनि अनुसन्धान अगाडि बढाएको छैन । प्रहरीले उनको कोठाबाट प्रमाण भन्दै संकलन गरिएका मदिरा, गिलास, महराको भनिएको चस्माको टुक्रा, जुत्ताको तलुवा लगायतका सामग्री महानगरीय प्रहरी वृत्त तीनकुनेमै राखेको छ । जाहेरीको अभावमा ती प्रमाणको परीक्षण अगाडि नबढाइएको प्रहरीको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ