राप्रपाले पायो इन्टरनेसनल डेमोक्राटिक युनियनको सदस्यता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राप्रपाले पायो इन्टरनेसनल डेमोक्राटिक युनियनको सदस्यता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवर्द्धनवादी राजनीतिक दलहरुको छाता संगठन इन्टरनेसनल डेमोक्राटिक युनियन (आईडीयू) को सदस्यता प्राप्त गरेको छ ।

युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो । क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अस्ट्रेलियाका सत्तारुढ दल लिबरल पार्टी अफ अस्ट्रेलियाले गरेको थियो । यसलाई माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए । नसिरले दक्षिण एसियाली मुलुकबाट थप सदस्य भएकामा खुसीसमेत व्यक्त गरेका थिए ।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा पनि सहभागी थिए । बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकहरुको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा थप चुनौतीहरु देखापरेको चर्चासहित संवर्द्धनवादी पार्टीहरुको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए ।

थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडीयूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । युनियनको मूल्य, मान्यताप्रति राप्रपा प्रतिबद्ध रहेको भन्दै थापाले विश्वासका साथ सदस्यता प्रदान गरी सहकार्यको निम्ति अवसर प्रदान गरेकामा युनियन र सम्बद्ध सबैलाई आभारसमेत व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकाको वासिङ्गन डीसीमा आयोजना हुने बैठक कोभिड-१९ का कारण भर्चुअलमार्फत गरिएको हो । बैठकले नेपालसहित युक्रेन, स्विडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो ।

युनियनको आगामी अन्तर्राष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने पार्टीका नेता राजाराम बर्तौलाले विज्ञप्तिमार्फत जानकारी दिए ।