राप्रपामाथि ठुलो संकट: विधानबाट राजसंस्था, हिन्दु राज्य र गाई हटाउन निर्वाचन आयोगको निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राप्रपामाथि ठुलो संकट: विधानबाट राजसंस्था, हिन्दु राज्य र गाई हटाउन निर्वाचन आयोगको निर्देशन



काठमाडौँ- भर्खरै महाधिवेशन सकेर नयाँ नेतृत्व पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संकटमा परेको छ । निर्वाचन आयोगले हालै पठाएको पत्रले राप्रपा पार्टी नै संकटमा परेको छ ।

आयोगले राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान र गाई चुनाव चिन्ह हटाउन निर्देशन दिएको छ । नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले उक्त निर्देशन दिएको हो ।

माघ पहिलो साता आयोगले पठाएको पत्रमा राप्रपाको पहिचान नै गुम्नेगरी परिवर्तन गर्न निर्देशन दिएपछि नेताहरू तनावमा परेको बताइएको छ । आयोगका शाखा अधिकृत मधुकरप्रसाद पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रलाई शनिबार राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगले राप्रपाको संशोधित विधान तथा केन्द्रीय समितिको विधान अद्यावधिकका लागि यसअघि नै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन लगाएको कुरा पनि स्मरण गराएको छ।

आयोगले भनेको छ, ‘त्यस दलबाट पेश भएका विधान लगायत कागजात जाँचबुझ एवम् अध्ययन गर्दा दलको विधानमा समावेश भएका केही विवरण संशोधन/परिवर्तन गर्नु पर्ने तथा हटाउनुपर्ने देखियो, उक्त पार्टीको विधान बमोजिमको आधिकारिक निकायबाट निर्णय गरी संशोधित विधान र नियमावली ७ दिनभित्र पेश गर्न हुन आदेशानुसार अनुरोध छ।’

संविधान प्रतिकूल रहेका कारण आयोगले ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भनी उल्लेख वाक्यांश आफ्नो विधानबाट हटाउन राप्रपालाई निर्देशन दिएको छ ।

आयोगले भनेको छ, ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन, विधानको प्रस्तावनाको बुँदा ५ मा उल्लेखित ‘अन्तरिम विधान’ भन्ने वाक्यांश को सट्टा राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान, २०७८’ उल्लेख गर्नु हुन। विधानको धारा १(घ) मा उल्लेखित ‘सबै व्यक्ति तथा निकायहरुमा’ भन्ने वाक्यांश को सट्टा ‘राप्रपामा आवद्ध सबै सदस्यहरूमा’ भन्ने वाक्यांश उल्लेख गर्नु हुन।’

निर्वाचन आयोगले नेपालका राष्ट्रिय प्रतीकलाई कुनै पनि दलको चुनाव चिन्ह या झण्डाका रुपमा प्रयोग गर्न नपाइने पनि भनेको छ। आयोगले राप्रपालाई चुनाव चिन्हका रुपमा प्रयोग गरिएको गाई हटाउन पनि भनेको छ। गाई नेपालको राष्ट्रिय जनावर हो।

‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनै राजनीतिक दललाई प्रदान गरिसकिएको भए सोको पुनरावलोकन गर्ने भन्ने आयोगबाट मिति २०७७/१०/०७ मा निर्णय भएको छ’, पत्रमा भनिएको छ, ‘विधानको धारा ४(क) मा उल्लेखित ‘झण्डाको मध्य भागमा गाई चिन्ह भएको’ भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न हुन’

त्यतिमात्रै होइन आयोगले राप्रपाको विधानमा उल्लेखित ‘सम्बर्द्धनवाद’ भन्ने शब्दलाई परिभाषित गर्न निर्देशन दिएको छ।

आयोगका एक अधिकारीका अनुसार राप्रपालाई आयोगले पटकपटक यो जानकारी गराएपनि अटेर गर्दै आएकाले अहिले निर्देशन दिइएको बताएका छन् । उनले राप्रपाले अब पनि अटेरी गरेको खण्डमा पार्टी नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।