रहस्यमय बन्दै रुकुम काण्ड: डोरीले बाँधेको अवस्थामा शव भेटियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रहस्यमय बन्दै रुकुम काण्ड: डोरीले बाँधेको अवस्थामा शव भेटियो



काठमाडौं- रुकुममा भएको घटना झन् रहस्यमय बनेको छ । भेरी नदीमा डोरीले हात बाँधेको अवस्थामा लोकेन्द्र सुनारको शव फेला परेपछि घटना थप रहस्यमय बनेको हो ।

शनिबार रुकुम पश्चिम को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता रहेका जाजरकोटका एक किशोरको शव बुधबार फेला परेको छ । योसँगै घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

भेरी नदीमा फेला परेको शव भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डोरीले हात बाँधेको अवस्थामा सुनारको शव फेला परेको हो । उनको टाउकोमा समेत गहिरो चोट लागेको छ ।

रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते साँझ भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये यसअघि ३ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन्।

मल्ल थरकी प्रेमिका भगाउन भन्दै नवराज बिक जेठ १० गते साँझ १७ जना साथीसहित प्रेमिका​को गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको बताइएको छ ।

वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ ।

यता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको प्रहरीले जनाएको छ ।