रुकुममा मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुकुममा मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार



मंसिर ११,रुकुम।

रुकुममा मतपेटिका बोकेको टोलीलाई लक्षित गरी अज्ञात समूहले बम प्रहार गरेको छ । आइतबार साँझ चौरजहारी नगरपालिका ६, को घर्तीकाँडामा बम प्रहार भएको हो । चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ नम्वर वडाका मतपेटिका बोकेको टोलीमाथि भएको बम प्रहारबाट मानवीय क्षति भने पुगेन ।

बम बाटोभन्दा केही माथि परेकाले क्षति भने हुन नपाएको हो । बम प्रहारपछि मतपेटिकाहरु गएराती नै इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको प्रहरीले जनाएको छ । सुरक्षास्थिति मजबुत बनाउँदै आज ती मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । मंसिर २१ गतेपछि मत गणना हुने भएकाले सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राख्ने निर्णय गरिएको छ ।

सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलका अनुसार मुसीकोट नगरपालिकाको १४, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका १०, सानीभेरी गाउँपालिकाका ९ मतदान स्थलबाट मतपेटिका जिल्लामा आइपुगेको छ । उनले अनुसार चौरजहारी र आठविसकोट नगरपालिकाका १४ र सानीभेरी गाउँपालिकाका २ मतदान स्थलका मतपेटिका आज बेलुका सम्म ल्याइपुर्‍याइने बताए ।