रुपन्देही प्याब्सनमा भाड्भैलो को बन्ला अध्यक्ष ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुपन्देही प्याब्सनमा भाड्भैलो को बन्ला अध्यक्ष ?



हिमाल पोष्ट / बुटवल, २८ मंसिर । निजी विद्यालयहरुको संगठन प्याब्सन रुपन्देहीमा चुनावी प्रतिस्पर्धालाई लिएर भाडभैलो भएको छ ।
सोमवार सुरु भएको प्याब्सनको १४ औं साधारण सभा तथा १३ औं अधिवेशनका क्रममा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएपछि एकले अर्कोलाई रोक्ने प्रयास स्वरुप भाडभैलो भएको हो ।
साधारण सभा सम्पन्न भएपछि निवार्चन प्रक्रियामा जान लाग्दा निवर्तमान कार्यवाहक अध्यक्ष लेखनाथ पौडेलको समुहले अनन्तराज शर्माको अध्यक्ष उम्मेदवारीका विषयलाई लिएर विवाद झिकेपछि समस्या आएको हो ।
कुल दुई सय ३४ सदस्य रहेको प्याब्सनको अधिवेशनका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी संयोजक र प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी र पत्रकार यमलाल भुसाल सदस्य रहेको निर्वाचन समितिले निकालेको सूचना अनुसार शर्माले अध्यक्षमा उम्मेदवारी दिने बताएपछि पौडेल पक्षले दुई वटा विधान देखाई विवाद सृजना गरेको थियो ।

विधानमा जिल्ला शाखाको महलमा अध्यक्ष हुने योग्यता एक पटक जिल्ला कार्य समितिमा सदस्य भैसकेको व्यक्ति अध्यक्ष हुन सक्ने उल्लेख गरेको छ भने केन्द्रीय समितिको महलमा अध्यक्ष हुनका लागि पदाधिकारी हुनुपर्ने उल्लेख छ । पौडेल पक्षले केन्द्रीय समितिको महललाई आधार बनाई विवाद सृजना गरेपछि शर्मा पक्षले निर्वाचन भाड्ने र पराजयको डरले षड्यन्त्र भएको भन्दै सोमवार रातभरी धर्ना दिएको थियो

 

भने कुल सदस्य संख्याको ५१ प्रतिशत भन्दा बढी सदस्य आफ्ना पक्षमा भएको भन्दै हस्ताक्षर संकलन गरेको थियो । जसमा एक सय २६ जना सदस्यले शर्माको पक्षमा हस्ताक्षर गरेका थिए ।
शर्माले आफुहरु जिल्ला शाखाको महल अनुसार योग्य रहेको बताए ।
शर्मा पक्षले आफुहरु विधान अनुसार ठिक भएको र निर्वाचन हुनुपर्ने माग गरेपनि पौडेल पक्षले नमानेपछि निर्वाचन समितिले प्रक्रिया नै सुरु नगरी विचमै छोडेर सबै सदस्य राती नै बाहिरिएका थिए ।
निवार्चन समितिले विधानको अस्पष्टताले समस्या परेको बताएपछि प्याब्सनका सदस्यहरुले एक जना पनि कानुन व्यवसायी नराखी पत्रकारहरुलाई मात्र निर्वाचन समितिमा राख्नु निवर्तमान कार्य समितिले नै षड्यन्त्र गरेको आरोप लगाएपछि झन् विवाद सिर्जना भएको थियो ।
सोमवार साझ देखि मंगलवार विहान सम्म निर्वाचनको माग गर्दै बसेका शर्मा पक्षले निर्वाचनबाट भाग्ने वाहनावाजी स्वरुप पौडेलपक्षले अमुक राजनीतिक दलको आडमा वल मिचाई गरिरहेको आरोप लगाएको छ । पौडेल पक्षले भने विधानमा देखिएको अस्पष्टता र निर्वाचन समितिको कमजोरीले समस्या आएको बताउदै आएको छ ।
अध्यक्ष पदका आकांक्षी पौडेलले आफुहरुबाट केही कमी कमजोरी भएतापनि केही परिस्थितीजन्य कारणले समस्या आएको बताउदै जति सक्दो चाडो समाधान हुने बताए ।
त्यस्तै अध्यक्ष पदका अर्का आकांक्षी शर्माले आफ्नो समुहले जित्ने सुनिश्चित भएपछि अर्को समुह अत्तालिएर निर्वाचन भाड्ेको बताउदै आफुहरुलाई कुल सदस्य दुई सय ३४ मध्ये लिखित रुपमै एक सय २६ जनाले मत दिइसकेका र गोप्य मतदान हुंदा थप २० देखि ३० जनाले मत दिने निश्चित भएको बताए ।
विवाद पश्चात अव कसरी जाने भन्ने विषयमा मंगलवार दिनभर छलफल भएपनि कुनै निश्कर्ष नआएकोले निर्वाचन प्रक्रिया अनिश्चित भएको छ ।
निजी विद्यालयहरुको संरक्षण गर्ने र हक हितका लागि प्याब्सनमा नेतृत्वमा जाने क्रममा एक पक्षले अर्को पक्षलाई निषेध गर्ने प्रवृतिले जनमानसमा राम्रो सन्देश नजाने निश्चित छ ।