...त्यसपछि उनले कहिल्लै रूपको घमण्ड गरिनन् - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

…त्यसपछि उनले कहिल्लै रूपको घमण्ड गरिनन्



यो कथा एक समयकी अचम्मै राम्री युवतीको हो । कुरा परापुर्वकालको हो । त्यतिखेरको समयमा उनको टाढा टाढा सम्म चर्चा चल्थ्यो । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। युवाहरू उनका कुरा मात्रै गरेर सन्तुष्टि प्राप्त गर्थे ।

रुप उस्तै राम्रो, जिउडाल त झनै मिलेको, आँखाका आँखीभौं झनै मिलाउने नपर्ने, आहा ! जे छ सबैको तारिफ गर्न योग्य थिइन् उनि। बोलि पनि निकै सुमधुर कति युवा त उनको बोलि सुन्नकै लागि लालायित हुन्थे ।

तर, गाउँ र शहरका सबैले उनको तारिफ गरेकैले उनलाई आफ्नो रुपप्रति निकै घमण्ड बढ्दै गयो। सबैले तारिफ गरेकैले उनले अरूलाई मान्छे नै गन्न छाडिन । आफ्नो रुप र स्वरूपको निकै घमण्ड गर्न थालिन ।

उनको रुप र घमण्डीपनको दरबारमा समेत पनि चर्चा परिचर्चा भएछ। दरबारका राजा साह्रै ज्ञानी र पराकर्मी थिए । राजाको एउटी कमजोरी थियो, उनि पटक्कै राम्रा थिएनन । अर्थात उनि रूपले निकै ठगिएका थिए । राजाले ती युवतीलाई दरबारमा जागिर लगाइदिए । उनको जागिर भने राजा महाराजाहरूलाई नाचेर मनोरञ्जन प्रदान गर्नुपर्ने हुन्थ्यो ।

एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो । ती युवतीको परिक्षा कसरी लिने भनेर उनले आफ्ना सल्लाहाकारहरूसंग परामर्श गरे ।एउटा जुक्ति निस्कियो ।

राजाले साधारण भेष धारण गरे, कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे। यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो उनि रिसाइन, दाह्रा किट्दै भनिन:

“ओइ गधा ! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?,

कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले,

बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस्।”

यूवतीको घमण्ड पहिल्यै सुनि सकेका हुनाले राजा रिसाएनन, बरु हाँस्दै जवाफ दिए ।

”हे सुन्दरी, तिमी भगवानले रुप र जीउडाल दिने लाईनमा बसिछौ, म भने भगवानले ज्ञान र भाग्य दिने लाईनमा बसेको थिएँ, त्यसैले त आज म राजा भएको छु र तिमी मेरो सेवक तथा साधारण नर्तकी।

रुपमा घमण्ड गर्नु अज्ञानता हो। बिना ज्ञानको रुप र बिना पातको रुख उस्तै उस्तै हुन। म त तिमीलाई यहि कुरा सम्झाउन आएको थिएँ। तिमीसँग बिहे गर्न हैन। मलाई थाहा छ, पात नभएको रुखले छहारी दिन सक्दैन।”

यूवती लाजले मरेसरी भै आफ्नो बाटो लागीन र त्यहि दिनदेखि आफ्नो रुपको घमण्ड गर्न छाडिदिईन।

यो कथाको अन्तर्य आफूसँग मात्र भएका चिजले मान्छे पूर्ण बन्दैन, यहाँ भएका हरेक व्यक्ति बिशेष छन् भन्ने नै हो । त्यसैले आफूसँग भएका कुनै कुरामा पनि घमण्ड नगरौँ । धन्यवाद !