रुपान्तरण अभियानका ६४ युवा नयाँ शक्तिमा प्रवेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपान्तरण अभियानका ६४ युवा नयाँ शक्तिमा प्रवेश



  प्रगतिशील रुपान्तरण अभियानको प्रकाशन आजको मूल्यांकन मासिकमा सक्रियरुपले क्रियाशील युवाहरुको समूहसहित ६४ जना युवाहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । सोमबार नयाँ शक्तिको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी संयोजक डा. बाबुराम भट्टराईले उहाँहरुलाई नयाँ शक्तिमा प्रवेश गराउनु भएको हो ।
रुपान्तरण अभियानका अभियन्ता दीपक खड्काको नेतृत्वमा ६४ जना युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन् । यो अभियानले नेपालमा आजको समाजवादको स्वरुप र प्रयोगको विषयमा बहस गर्दै आइरहेको छ ।नयाँ शक्तिमा प्रवेश हुनेहरुमा रविन्द्र कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विकास श्रेष्ठ, राजकुमार बराल, रुपक खड्का, राजेन्द्र सापकोटा, विजय मुडवारी, सुवास नगरकोटी, निराजन रायमाझी, संजय विक्रम शाह, जमुना चौधरी, रमेश रायमाझी लगायत ६४ जना रहनुभएको छ ।
पार्टीमा प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्दै संयोजक भट्टराईले युगले नै एउटा नयाँ विकल्प खोजिरहको हुनाले त्यो विकल्प निर्माण गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएकोले अबको राजनीतिमा युवा सक्रियता बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘हामी वैकल्पिक पार्टीमात्र होइन, वैकल्पिक राजनीतिक धारलाई नै अघि बढाउने पार्टी हौं’ उहाँले भन्नुभयो –‘हामी केवल थप एउटा पार्टी हैनौं । वैकल्पिक सोच, संस्कार र संस्कृति निर्माण गर्ने पार्टी हौं ।’
 img_20161212_130748
उहाँले नयाँ शक्ति पार्टी निर्माणकै क्रममा रहेकोले यस्तै धु्रवीकरणकै पक्षलाई तीव्रता दिएर वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा रहेको बताउँदै उहाँले भन्नुभयो –‘विभिन्न पक्षहरुसँग कुराकानी गरेर ध्रुवीकरणलाई तीव्रता दिने हाम्रो योजना हो । यो कुनै बनिबनाउ पार्टी होइन ।’
संयोजक भट्टराईले कुनै पनि समाजको विकासमा तत्कालीन राजनीतिक उपरीसंरचना र आर्थिक आधारबीच निरन्तर जारी रहने संघर्षले गति पैदा गर्ने उल्लेख गर्दै नेपालमा पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक उपरीसंरचनाको पाटो पूरा भइसकेकोले अब आर्थिक आधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसरी निर्माण हुने आर्थिक आधारले नै समुन्नत समाजवादको आधार तयार गर्ने भन्दै उहाँले भन्नुभयो –‘अहिलेको आवश्यकता त्यही आर्थिक आधार परिवर्तन र उत्पादक शक्तिको विकास भएकोले त्यसैमा जोड दिनुपर्छ । यसैबाट समुन्नत प्रकारको समाजवादको आधार तयार हुनेछ ।’
समुन्नत समाजवादको गन्तब्यमा पुग्नका लागि आर्थिक विकास र समृद्धिको चरणबाट पार हुनुपर्ने भएकोले त्यसका लागि युवा शक्तिको आवश्यकता अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
नयाँ शक्तिमा प्रवेश गरेका युवाहरुले नयाँ शक्ति पार्टीले लिएको युवाकेन्द्रित नीति र देशको विकास र समृद्धिको एजेण्डाप्रति आकर्षित भएर आफूहरु नयाँ शक्तिमा प्रवेश गरेको बताउनुभयो ।