काङ्ग्रेसले हारेपछि एकाएक सभापतिको राजिनामा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काङ्ग्रेसले हारेपछि एकाएक सभापतिको राजिनामा



पोखरा : पोखरा महानगरपालिका-९ की कांग्रेस सभापतिले राजिनामा दिएकी छन् । सभापति उमाकुमारी ठकुरीले राजीनामा दिएकी हुन् ।

आफ्नो वडाबाट कांग्रेसलाई कम मत आएका कारण नैतिकताका आधारमा ठकुरीले राजीनामा गरेकी हुन् ।

पोखरा ९ मा नेकपाका उम्मेदवारले कांग्रेसभन्दा साढे ४ सय बढी मत प्राप्त गरेका थिए । कास्की २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाकी विद्या भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले हराएकी थिइन् ।

पोखराका ११ वटा वडामा फैलिएको निर्वाचन क्षेत्रमा पोखरा ९ कांग्रेसको गढ मानिन्थ्यो । स्थानीय तह निर्वाचनमा पनि त्यहाँ कांग्रेसले जितेको थियो । यसपालिको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई १ हजार १ सय ३७ आउँदा नेकपाको भागमा १ हजार ५ सय ७ मत परेको थियो ।

ठकुरीले नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छे समक्ष राजीनामा बुझाएकी हुन् ।

उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको ठकुरीले उल्लेख गरेकी छन् ।