प्रयोगमा नआउदैँ भत्कियो वडा कार्यालयको सेफ्टी ट्याङ्की - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रयोगमा नआउदैँ भत्कियो वडा कार्यालयको सेफ्टी ट्याङ्की



विशाल पाण्डेय / सुखड,कैलाली –
कैलालीको घोडाघोडी नगरपालिकामा वडा कार्यालयका भवनहरु बन्ने क्रम जारी रहेको छ । कतिपय वडाका भवनहरुको निर्माण कार्य समपन्न भइसकेको छ भने,कतिपयको निर्माण कार्य भइरहेको छ । यसैबिच घोडघोडी नगरपालिका- ७ मा स्टिमेट अनुसार योजना निर्माण कार्य नहुदा आयोजना नै भत्किएको छ ।

वडाको भवन निर्माण कार्य सम्पन्न भइसक्दा शौचालयको सेफ्टि ट्याङ्की निर्माणको अन्तिम चरणमा आइपुग्दा भत्किएको छ । स्टिमेटमा सेफ्टी ट्याङ्कीमा इट्टा प्रयोग गर्नुपर्ने भएपनि ब्लक प्रयोग गर्दा भत्किएको स्थानीयले बताएका छन् ।

यस्तै घोडाघोडी नगरपालिका वडा नं ५ र १२ को सेफ्टी ट्याङ्कीमा पनि स्टिमेट अनुसार काम नभएको पाइएको छ । तीन ठाउँमा नै वडा कार्यालय भवन निर्माणको जिम्मा पाएको पार्वती निर्माण सेवाले तिन स्थानकै शौचालयको सेफ्टी ट्याङ्की भने स्टिमेट अनुसारको इट्टा प्रयोग नगरी ब्लक प्रयोग गरिएको छ ।

घोडाघोडी नगरपालिका वडा नं ७ का अध्यक्ष धन बहादुर बमले आफुले पटकपटक स्टिमेट अनुसार इट्टाको प्रयोग गर्न आग्रह गर्दा पनि ठेकदारले नमानेको बताए । ‘स्टिमेटमा १ नम्बरको इट्टा प्रयोग गर्न भनिएको छ । तर, ब्लक प्रयोग गरियो । अहिले नतिजा भासिएर पुन: निर्माण गर्नुपर्ने भयो । अध्यक्ष बमले भने , ब्लक पनि २/३ नम्बरको प्रयोग गरेको छ ।’

केहि दिन अघि पनि वडा नं १२ मा निर्माणको अन्तिम चरणमा पुगेको सेफ्टी ट्याङ्की भासिएको स्थानीयले बताएका छन् । स्टिमेट अनुसार इट्टा प्रयोग नगरिएको हुँदा सेफ्टी ट्याङ्की भासिएको स्थानीयले बताएका छन् । यता वडा नं १२ का अध्यक्ष पर्ना चौधरीले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र ब्लक प्रयोग गरेर बनाइएको सेफ्टि ट्याङ्कीलाई पुन: इस्टिमेट अनुसार इट्टाको प्रयोग गरि निर्माण गर्नका लागि दबाब दिइरहेको बताए ।

वडा न ५ मा पनि सेफ्टि टयाकिं निर्माण कार्य सम्पन्न भइसके पनि भासिने अवस्थामा पुगिसकेको स्थानीयले बताए । वडाध्यक्ष प्रेम रोकायाले पनि स्टिमेट अनुसार इटाको प्रयोग नगरी ब्लकको प्रयोग गरिएको बताए । उनले भने ,’ त्यसलाइ भत्काएर पुन: निर्माण गर्नको लागि निर्देशन दिएका छौँ ।’

पार्वति निर्माण सेवाले वडा नं ५ ,७ र १२ को क्रमश: को ९० लाख १५ हजार , ८९ लाख १० हजार र ९० लाख ८९ हजारमा वडाका भवन निर्माणको कार्य गरिरहेको छ ।

यता पार्वती निर्माण सेवाका संचालक नन्द सिंह जोराले स्टिमेट अनुसार इट्टा प्रयोग नगरि ब्लक प्रयोग गरिएको स्वीकार गरेका छन् । थाहा हुँदा हुँदै किन ब्लकको प्रयोग गर्नु भो ? भन्ने प्रश्नमा संचालक जोराले आफु नभएको अवस्थामा ब्लकको प्रयोग गरि कामदारले निर्माण कार्य गरेको बताए । उनले भने , ‘म बाहिर थिए इटाको अभाव भएकाले कामदारले ब्लकको निर्माण कार्य गरेका हुन, अब सबै सेफ्टी ट्याङ्की भत्काएर पुन: निर्माण गर्दैछु ।’

घोडाघोडी नगरपालिकाका इन्जिनियर नबिन मल्लले स्टिमेट अनुसार काम नहुदा सम्म भुक्तानि रोकिने बताए ।
यस्तै स्टिमेट अनुसार काम नभए पुन: निर्माण कार्य गर्न लगाइने घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र बहादुर सिंले बताए । उनले भने,’ त्यो सम्बन्धि बुझ्न इन्जिनियरलाई पठाइएको छ । हस्तान्तरण गर्न भन्दा पहिला हामिले जाँच गरेर मात्र हस्तान्तरण गर्छौ ।’ स्टिमेट अनुसार नभए भत्काएर पुन: गराउन लगाउछौं ।

यस अघि पनि वडा नं १ भवनको निर्माण कार्य स्टिमेट अनुसार नभएको भन्दै स्थानीयहरुले विरोध गरेका थिए । भवन निर्माणमा कमसल खालको इट्टा प्रयोग गरिएपनि चौतर्फी बिरोधपछि सुधार गरिएको थियो ।