सागको तयारी सकियो: अब के बाँकी ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सागको तयारी सकियो: अब के बाँकी ?



काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए ।

सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा बाँकी रहेको काम शुक्रबारसम्म सकिनेमा ढुक्क रहन आग्रह पनि गरे । म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु, शुक्रबार रातिसम्ममा दशरथ रंगशाला तयार हुनेछ । अब रङ्गशाला परिसर र खेल स्थलका सरसफाइको काम मात्र निरन्तर चल्नेछ– सदस्य–सचिव सिलवालले भने ।

सदस्यसचिव सिलवालले पोखरा रङगशालाको दर्शक क्षमता पहिले १० हजारको मात्र गर्ने भनिएकोमा अब १३ हजारमा वृद्धि भएको जानकारी दिए ।

पोखरा रङगशालाको मैदान पनि पूर्ण रुपमा तयार छ । ट्रयाक एन्ड फिल्डको काम पनि सकिसकेको छ । जहाँ खेलाडीहरुले अभ्यास पनि सुरु गरिसके– उनले भने । सदस्यसचिव सिलवालले शुक्रबार साँझ ५ बजे दशरथ रंगशालामा उद्घाटनको ग्राण्ड रिहर्सल हुने पनि बताएका छन् ।

कडा सुरक्षा व्यवस्था
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । साग सुरक्षा कमिटीका संयोजक खनालले भने– ‘सागमा अवाञ्छनीय गतिविधि हुन दिने छैनौँ ।

सागलाई सुरक्षित रुपमा अवतरण गर्न भिभिआइपी, भिआईपी, अतिथि, खेलाडी, पदाधिकारी, रेफ्री, मिडिया र दर्शकको सुरक्षा व्यवस्थामा रत्तिभर कमी हुने छैन । विदेशी पाहुनाका लागि सुरक्षा अझ चुस्त गरिनेछ ।

सम्भावित हुलदङ्गाका लागि होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ । पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ ।

आवश्यकता परेमा खेलाडीहरुलाई विशेष सुरक्षा व्यवस्थसहित खेल स्थलसम्म पनि पुर्याइनेछ । सुरक्षा विषयमा सावधानी र सतर्कता अपाउन आवश्यक सबै सुरक्षा उपायहरुमा अपनाइनेछ । सम्भावित खतरालाई निस्तेज पार्ने व्यवस्था भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा निगरानी उच्च बनाइएको छ ।

प्रहरी महानिरिक्षक खनालले विशेष परिस्थितिका लागि थप सुरक्षाकर्मीको टिम तयार गरिने जानकारी दिए । यसैगरी सदस्यसचिव सिलवालले दर्शहरुलाई रङ्गशालामा रहेका सिटमा क्षति नपुर्याउन आग्रह गरे । रङ्गशालामा दर्शकहरुको गतिविधिलाई निगरानी गर्न सिसिटिभी जडान गरिएको त छ नै इ टिकटबाट पनि दर्शक पहिचान गरी कारवाही गरिनेछ ।

ट्राफिक व्यवस्थापन
सागमा काठमाडौँका सडकमा हुने जामलाई व्यवस्थापन गर्न चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न उपाय अपनाइने भएको छ । सागको समयमा ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिनेछ ।

दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा वानवे लागू गरिनेछ । उद्घाटन दिन रिङरोडभित्र विजोड र समापनमा जोड नम्बरका सवारी साधन मात्र चलाउन पाउने नियम लागू गरिनेछ । दर्शकका लागि पार्किङ स्थल टुँडिखेलमा तोकिएको छ ।

सो स्थानमा पार्किङ गर्न काठमाडौँ मल अगाडिको ढोका प्रयोग हुनेछ । रङ्गशाला भित्र भिभिआइपिको पार्किङ हुनेछ ।

टिकट
राष्ट्रिय खेलकुद परिषद्ले सागमा हुने खेलका लागि इ सेवासँग सहकार्य गरेको छ । इ सेवाले अहिले फुटबल, बास्केटल र भलिबलका टिकट अनलाइनमार्फत् विक्री सुरु गरिरकेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागडटइसेवाडटकमडटएनपीमा गएर टिकट खरिद गर्न सक्नेछ ।

इसेवाका प्रतिनिधि रोशन लामिछानले दशरथ रंगशलामा हुने समूह चरणका फुटबल खेल हेर्न साधारण पारापिटमा पाँच सय र भिआइपी पारािपटमा एक हजार रुपैयाँको टिकट तोकिएको जानकारी दिए । यसैगरी क्रिकेटको टिकट विक्रीको अधिकार भने नेपालयसँग छ ।

क्रिकेटमा नेपालको खेल हुँदा पाँच सय र अन्य देशबीच खेल हुँदा दुई सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।