गुल्मीका सागर ढकालले डडेल्धुराबाट लगाएको आगो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गुल्मीका सागर ढकालले डडेल्धुराबाट लगाएको आगो



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका गुल्मीका सागर ढकाल हाल चर्चामा छन् । सामाजिक सञ्जालमा युवाहरूले सागरलाई हौस्याएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवासँग चुनावी प्रतिस्पर्धा गर्ने बताएका उनी अहिले डडेल्धुरामा छन् ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएका ढकालले अहिले हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने अभियान चलाइरहेका छन् । आजभन्दा पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागरको अहिलेको अभियानमा युवाहरू जोडिएका छन् ।

साझा सवालमा उनले प्रश्न सोधेको भिडियो क्लिप अहिले पनि भाइरल बनिरहेको छ । उनले उक्त कार्यक्रममा सहभागीको रूपमा प्रधानमन्त्री देउवालाई आक्रोशित तुल्याउने गरी प्रश्न सोधेका थिए । उनको प्रश्न थियो ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’

यो प्रश्नले देउवा जंगिएका थिए । त्यहि युवा देउवालाई आउँदो चुनावमा हराएर ईतिहास बनाउने दाउमा छन् । ४० बर्ष भन्दा कम उमेरका युवा नेता नै प्रधानमन्त्री हुनुपर्ने उनको भनाई छ ।

डडेलधुराको विकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आएका देउवाले आफू जन्मिएदेखि जमिन नटेकेको र नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सिएको उनी बताउँछन् । लामो समयदेखि आफ्नो क्षेत्रमा पाइला नटेकेका देउवालाई यस पटक आफू त्यहाँ रहेर जमिन टेकाउने प्रयास गर्ने उनको भनाई छ ।

सामान्य बस चढेर डडेल्धुरा जाँदै गर्दा उनले भनेका थिए – ‘सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ।

जनतालाइ पिडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ । हजुरबुवा-नातिको जोडि पनि मिल्छ। आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबुवालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कारणले अब हजुरबुवालाइ आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाढै रिटायर हुनुहुनेछ।’

हाल चुनावी अभियानमा डडेल्धुरामै रहेका सागरले बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् । उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको र आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताए ।

जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयनमा रहेको उनले बताए ।

उनले देउवालाई आराम दिन मात्र होइन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई पनि आराम दिन आफूले देशभरि युवा उठाउने अभियान सुरु गरेको बताए ।

उनले भने – ‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहेनत गर्नु भयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले थपे, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।’

डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने दाबी गर्दै उनले भने – ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’

उनले आफू गुल्मीबाट डडेल्धुरामा चुनाव लड्न आएको भन्दै गुल्मीबाट पनि डडेल्धुराका युवा उठ्न आग्रह पनि गरे ।उनको भनाई अनुसार अहिले सागरको निशानामा पूर्वप्रधानमन्त्रीहरु ओली र प्रचण्ड पनि छन् । एकपटक प्रधानमन्त्री भइसकेका र ४० बर्ष माथिका नेता प्रधानमन्त्री बन्न नहुने उनी बताउँछन् ।

सागरले डडेलधुरा जाँदै गर्दा सामाजिक सञ्जालमा लेखेका थिए-

म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान, ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो।हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ । हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ।

ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर , बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।

हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना, चिक्ष्ण डेलिभरि गर्ने दिमाग र पिडा नै पिडा भरिएको एक युवाले हामीबाट धेरै भन्दा धेरै कुरा सिक्न सकोस् । तसर्थ हाम्रो/मेरो हरेक राजनितिक कदम यसरि लिइनेछ ताकि करोडौ युवाले जस्ताको तेस्तै एक एक पाइला कपि गर्न सकुन् । मेरो/हाम्रो हरेक खर्च मिति र सके समयसंगै, मिनेट र पैसामा हिसाब गरेर सार्वजनिक गर्ने छु, सबै चिज सके सम्म अनलाइन नै तिर्ने प्रयास गर्ने छु। हरेक गाउ गाउ सहरसहरमा निसास्सिएका युवाहरुमा पुराका पुरा सुध्द हावा र स्वास फेर्ने वातावरण बनाउने छौ।

अर्को पटक डडेलधुरा जादा चुनावको मिति सार्वजनिक हुनेछ। मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसंगै जान यहि पोस्ट मार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु । सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनितिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ।

परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे । यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ। जनतालाइ पिडा कति छ, कति आत्तिएका छन् भन्ने कुरा नातिले हजुरबुवाको आखा कमजोर भए पनि गाउ गाउ र सहर सहरबाट कानमा घन्किने गरि आवाज उठाउनेछ । हजुरबुवा-नातिको जोडि पनि मिल्छ। आशा छ हजुरबुवाले नातिलाइ माया गर्नु हुनेछ, नातिले हजुरबुवालाइ बेजोड माया गर्छ , सुनाइदिनु होला। त्यहि कारणले अब हजुरबुवालाइ आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुवाहरु चाढै रिटायर हुनुहुनेछ। हजुरबुवा रिटायर भएको दिन नातिहरुले झुलंगामा राखेर , शान्तिको पाठ गराउदै , मिठ्ठो‌ चिया पकाएर खान दिनेछन्।

हजुरबुवाको र्याल तपाइको छोराछोरिहरुले स्याहार्दैनन् किनकि तपाइहरुले आफ्ना छोरा-छोरिलाइ पिडा दिनुभएको छ तर नाति-नातिना पुस्ताले पुस्दिन पनि तयार भएर बसेको छ। हजुरबुवाहरुलाइ सम्पुर्ण स्याहार सुसार गरिनेछ। हजुरबुवाहरुलाइ हामी नातिहरुले निकै माया गर्छौ र अबको ५-७ महिनामा देसको हरेक कुना-कुनाबाट हजुरबुवाआमाहरुलाइ नाति-नातिनाहरुले नै ससम्मान रिटायर पनि गराउछौ ।