बाल्टिमोरमा अश्वेत व्यक्तिको गोलीबाट प्रतिभावान् सागरको निधन - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बाल्टिमोरमा अश्वेत व्यक्तिको गोलीबाट प्रतिभावान् सागरको निधन



विजय थापा, डिसी महानगर क्षेत्र– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । जसमा मृत्यु हुने एक नेपालीको पहिचान भएको छ । उनी संखुवासभा, खादवारीका अन्दाजी २४-२५ वर्षका सागर घिमिरे भएको पुष्टि भएको छ ।

आफन्तका अनुसार सागर निकै प्रतिभावान्, होनहार र महाविद्यालयका स्वर्ण पदक प्राप्त विद्यार्थी समेत हुन् । बाल्टिमोरकै उपनगर क्षेत्र वुडलनमा बिहानै करिव ६:३० मा भएको उक्त घटना बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा रहेको छ । 

घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए । बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार उनीहरूलाई घरमा आगजनी र गोलीबारी भएको घटना बारेमा जानकारी गराएपछि घटनास्थलमा ६:४० बिहान पुगेका थिए । 

गोली चलाउने बन्दुकधारी ५६ वर्षीय एभर्टन भएको खुलेको छ । प्रहरीहरू त्यहाँ पुग्दा गोली चलाइरहेकाले प्रहरीको गोलीबाट उनको निधन भएको बताइएको छ ।

घरमा आगो लागेपछि बाहिर भाग्ने बित्तिकै उक्त उदण्ड व्यक्ति ब्राउनले घिमिरे र अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए । संयोगबश  अधिकारी बचेका थिए भने उनको अस्पतालमा उपचार भैरहेकोछ । अन्दाजी २६ वर्षका अधिकारी नेपाली घर सर्लाही भएको बुझिएको छ । भने उनी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका हुन् ।

मृतक सागर घिमिरे

उनको युनिभर्सिटी अफ मेरिल्यान्ड बाल्टिमोर (२२ ग्रीन स्ट्रिटमा )उपचार भैरहेको र अवस्था खतरामुक्त भएको बताइएको छ । उनलाई महावाणिज्यदूत प्रेमराजा महतले भेटिसकेका छन् भने राजदूत डा. युवराज खतिवडाले पनि सम्पर्क गरिसकेका प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले बताए ।

नेपाली विद्यार्थी घिमिरे र अधिकारीलाई गोली हान्ने बन्दुकधारी ब्राउन उटपट्याङ्ग, आक्रामक, अराजक र अशान्त भएको छिमेकीले प्रहरीहरूलाई गुनासो समेत गरेका थिए । बन्दुकधारी सहित मृत्यु हुनेहरूमा , नेपाली विद्यार्थी घिमिरे , दुई स्पानेली मध्ये १ महिलाको पनि मृत्यु भएको थियो भने हालसम्म प्रहरीले अन्यको नाम सार्वजनिक गरेको छैन ।

गोली लागि निधन भएका घिमिरे बाल्टिमोर क्षेत्रमै बसोबास गर्दै आएका पूर्वेली मौलिक नेपाली भाकाका अनुसन्धानकर्ता तथा लोक गायक नविन कुमार खड्काका नजिकका आफन्त हुन् ।

खड्काका अनुसार घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक सकेर दुई-तीन महिना बाल्टिमोर मै काम गरेर खर्च नेपालमै जाने लक्ष्य रहेको उनले बताए । उनी आफ्नो साथीको घरमा हालै मात्रै आएका थिए  । उनले स्नातक तहमा दिक्षान्त समारोह सकी बाल्टिमोर आएका थिए ।

खड्काका अनुसार घिमिरेका आमाको ३ बर्ष अगाडी मृत्यु भैसकेको छ । घिमिरेको एक दिदी र एक दाई रहेका छन् दिदि भने काठमाडौँको नर्भिक अस्पतालमा कार्यरत छन् । घिमिरेको नेपाल घर संखुवासभा, खादवारी, तल्लो पांठा भएको बताइएको छ ।

अहिलेसम्म बाल्टिमोर काउन्टी प्रहरीले शव दिएको छैन  । यसबारेमा अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ । 

घटना भएदेखि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)का अध्यक्ष सुबोध विलास पन्त तथा महासचिव किरण ढकाल घटनास्थलमा पुगेका थिए । प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सभापति प्रभु थापाले घिमिरेका आफन्त र परिवारसँग अन्य समन्वय गरिरहेका छन् ।

पन्तका अनुसार एक जना नेपालीको घर सहित कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेका छन् ।