सहकारीका अध्यक्षले महिला कर्मचारीको भिडियो बनाएर गरे पटकपटक बलात्कार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सहकारीका अध्यक्षले महिला कर्मचारीको भिडियो बनाएर गरे पटकपटक बलात्कार



काठमाडौं- बलात्कार अभियोगमा डिल्लीबजारस्थित दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् ।

डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ गरेको हो।

आजको नयाँ पत्रिकाका अनुसार युवती सोही सहकारीमा कार्यरत कर्मचारी हुन् । युवतीले विभिन्न प्रलोभन दिएर अधिकारीले पटक–पटक बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्न परिसरले कालिमाटीस्थित महिला सेललाई निर्देशन दिएको थियो।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बलात्कार अभियोगमा अधिकारी पक्राउ परेको जानकारी दिए ।

पीडित युवती सहकारीमा केही वर्षदेखि कार्यरत थिइन् । यस क्रममा अधिकारीले युवतीलाई पदीय प्रभावमा पारी विविध प्रलोभन दिने गरेका थिए।।

अधिकारीले युवतीलाई शारीरिक सम्बन्ध राखेको भिडियो आफूले खिचेकाले सार्वजनिक गरिदिने धम्की दिने गरेको प्रहरीको भनाइ छ । सोही आडमा अधिकारीले युवतीमाथि पटक–पटक यौन शोषण गर्दै आएका थिए ।

जागिर पनि छाड्न नदिने र पटक–पटक यौन शोषण पनि गर्दै आएपछि युवतीले बाध्य भएर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।

‘अधिकारीले युवतीलाई प्रलोभन दिने गरेको पाइयो । सोही आडमा पटक–पटक बलात्कार गर्दै आएका रहेछन् । जति गर्दा पनि अधिकारीको चंगुलबाट फुत्किन नसक्ने भएपछि बाध्य भएर प्रहरीमा जाहेरी दिएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्ता डिएसपी बोगटीले भने।