नेकपामा सहमति भाँडियो: नेताहरू भन्छन – बैठकको धज्जी उडाइयो « Himal Post | Online News Revolution
Logo

नेकपामा सहमति भाँडियो: नेताहरू भन्छन – बैठकको धज्जी उडाइयो



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सहमति भाँडेको आरोप लागेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै सल्लाह नगरी मन्त्रमण्डल पुनर्गठन गरेको र विवाद समाधानका लागि गठन गरिएको कार्यदल र पार्टी कमिटीले दिएको सुझाव विपरित गरेको आरोप पार्टीका शिर्ष नेताहरूले लगाएका छन् ।

बुधबार विहान ओली र प्रचण्डबीच लामो छलफल भएपनि त्यसबारेमा प्रधानमन्त्री ओलीले सुइँको समेत नदिएर एकलौटी गर्न खोजेको खुमलटार स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई अध्यक्षको बिचमा यसबारे कुनैपनि छलफल र सहमति भएको छैन ।

उनीहरूले कर्णाली प्रदेशमा देखिएको विवादलाई कसरी समाधान गर्ने विषयमा मात्र छलफल गरेको बुझिएको छ । बुधबार नै तीनजना मन्त्री चयन हुँदैछ भन्ने बारेमा चर्चा समेत नगरेको स्रोतले दावी गरेको छ ।

स्थायी कमिटीको बैठक तथा सचिवालयले गरेको निर्णय विपरीत नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्री चयन गरेको प्रचण्ड-नेपाल समुहका नेताहरूको आरोप छ ।

कुनै पनि नियुक्ति गर्दा दुई जना अध्यक्षको परामर्श र सल्लाहमा गरिने पार्टीले निर्णय नै गरेको छ । तर प्रधानमन्त्री ओलीले पटक पटक पार्टीलाई वाइपास गरी निर्णयहरु गरिरहेको एक नेताले आरोप लगाएका छन् ।

यसअघि राजदूत नियुक्तिदेखि लिएर विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले कुनै सल्लाह गरेका थिएनन् । यसपटक पनि त्यस्तै भएको बुझिएको छ । करिब एक महिनादेखि दुवै जना अध्यक्षको बीचमा लगातार छलफल भइरहेको छ । मन्त्रीपरिषद् पुर्नगठनदेखि लिएर सवैधानिक नियुक्ति लगायतका विषयमा छलफल भइरहेको छ । तर कुनै विषयमा सहमति बनिरहेको थिएन ।

प्रधानमन्त्री ओलीले खाली रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरौं त्यसपछि बाँकीको के गर्ने त्यस विषयमा छलफल गरौंला भन्दै आएका थिए भने अध्यक्ष प्रचण्डले कार्यसम्पादन मूल्याकंनका आधारमा वा दुई वर्ष वितेकालाई हटाएन अनुभवीहरुलाई मन्त्री बनाउन सुझाव दिएका थिए । तर ओली त्यसप्रति सकारात्मक थिएनन् ।

यसरी दुई जनाबीचमा कुरा नमिलेपछि मन्त्रिमण्डलको पुनर्गठन दसैं तिहारपछि गर्ने र त्यसअघि पार्टी एकताका बाँकी काम टुग्यांउन दुवैजना अध्यक्षको बीचमा सहमति भएको थियो । त्यही सहमति अनुसार काम अगाडि बढिरहेको बेला कर्णाली प्रदेशको समस्या पार्टी सामु आइपुग्यो । तीनदेखि अध्यक्षद्वय त्यसैमा छलफल गरिरहेका थिए । आज अचानक प्रधानमन्त्रीले खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री चयन गरेका छन् । जुन कुराले अध्यक्ष प्रचण्डलाई आश्चर्यचकित बनाएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले रिक्त ती वटा मन्त्रलाय अर्थमा महासचिव विष्णु पौडेल,सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रि रहेका पार्वत गुरुगलाई संचार मन्त्रीमा नियुक्त गरेका थिए ।

त्यस्तै महिला बालबालिकामा लिलानाथ श्रेष्ठ तथा रक्षा मनित्र रहेका ईश्वरपोखरेलाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपषिदको कार्यालयमा पठाएका थिए ।

यसरी प्रधानमन्त्रीले एकपछि अर्को सहमति उल्लंघन गर्दै गएपछि नेकपाभित्र केही समयअघि मात्रै साम्य भएको भनिएको आन्तरिक कहल थप बल्झिने संकेत देखिएको छ ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले सचिवालय र स्थायी कमिटीलाई समेत नमानेको सबैलाई बाइपास गरेर अगाडी बढ्न खोजेको देखिएकाले पार्टीमा थप समस्या आउने बताए ।

लगातार वार्ता र संवादमै रहेका बेलासमेत प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिका सवालमा छलफल नगरेपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतका नेताहरुले असन्तुष्ट बनेका छ्न् ।

आजको निर्णयले प्रधानमन्त्री ओलीले आफुखुसी गर्न खोजेको र पार्टी बैठकको धज्जी उडाउन खोजेको नेताहरूको बुझाई छ ।