सहमतीय सरकार गठन गर्न प्रमुख राजनीतिक दलका नेताहरूलाई राष्ट्रपतिको आग्रह - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सहमतीय सरकार गठन गर्न प्रमुख राजनीतिक दलका नेताहरूलाई राष्ट्रपतिको आग्रह



काठमाडौँ, जेठ १८ गते । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठन गर्न प्रमुख राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले प्रमुख राजनीतिक दलका नेतालाई शीतल निवास बोलाएर सहमतीय सरकार गठनका लागि हालसम्म भएका प्रयासका बारेमा जानकारी लिनुभएको थियो ।  उहाँले मुलुकको वर्तमान परिस्थितिको गम्भीरतालाई बुझेर दलबीच आपसी सद्भाव कायम राख्दै अन्तिम समयसम्म पनि सहमतीय सरकार गठनको प्रयास जारी राख्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठन गर्न आह्वान गर्दै दिएको सात दिनको समय बुधबार मध्यरातबाट सकिँदैछ ।

झन्डै दुई घन्टासम्म चलेको  बैठकमा राष्ट्रपतिले संवैधानिक व्यवस्था अनुसारको प्रक्रिया पूरा गर्न मात्र बोलाएको नभई मुलुकको वर्तमान परिस्थितिको गाम्भीर्यता, आर्थिक, राजनीतिक, सामाजिक चुनौतीको सामना गर्दै संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन सफल बनाउन पनि सहमतीय सरकारको आवश्यकता रहेकाले पनि आफूले त्यसमा विशेष जोड दिएको स्पष्ट पार्नुभएको स्वकीय सचिव अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपतिले  विगतमा पनि राष्ट्रिय समस्या आइपर्दा सबै दल एक भएर मिलेर अगाडि बढेको स्मरण गर्दै अबका दिनका चुनौतीको सामना गर्न पनि आपसी सद्भाव कायम राखेर अगाडि बढ्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको सरकारको विकल्प नभएको भन्दै अन्तिम समयसम्म पनि सहमतीय सरकारको प्रयास आफूबाट हुने बताउनुभएको थियो ।  उहाँले सरकारले तोकेको मितिमा दोस्रो चरणको निर्वाचन पनि सम्पन्न हुने र त्यसमा कसैले आशङ्का गर्नु नपर्ने बताउनुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतीय सरकार अहिलेको आवश्यकता भएको र सहमतिका लागि सत्तारूढ दलले उचित वातावरण बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।  बैठकमा सहभागी अन्य दलका नेताहरूले पनि सहमतीय सरकार अहिलेको आवश्यकता भएको भन्दै आफूहरू अन्तिम समयसम्म त्यसका लागि प्रयत्नशील रहने बताउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी बैठकमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतो, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी  उपस्थित हुनुभएको थियो ।

बुधबार मध्यरातसम्म सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य सङ्ख्याकोे बहुमतका आधारमा प्रधानमन्त्री पदका लागि निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

‘सम्भावना कम’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतीय सरकार गठनका लागि छलफल जारी रहे पनि त्यसको सम्भावना भने कम रहेको बताउनुभएको छ ।  बुधबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा उहाँले भन्नुभयो, “छलफल त जारी छ तर सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन । ”
बैठकमा प्रचण्डले राख्नुभएका धारणा उद्धृत गर्दै सांसद अनिता परियारले भन्नुभयो, “काँग्रेसकै नेतृत्वमा सरकार बन्छ ।  अहिले एमाले आउने सम्भावना छैन । ”

बैठकमा प्रधानमन्त्रीले नेताहरूलाई चुनावको बेला सरकार र पार्टीले गरेका राम्रा कामको जस लिन नसकेको गुणासो गर्नुभएको थियो ।  आफूले गरेका राम्रा कामलाई जनतामाझ प्रचार गर्न नसकिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अरूले पिठो बेचेर राजनीति गरे ।  हामीले भने चामल पनि बेच्न सकेनौँ । ”

उहाँले माओवादी नेतृत्वको सरकारले दूरगामी महŒव राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको उल्लेख गर्दै यसलाई जनतामाझ लानुपर्ने बताउनुभएको थियो ।  प्रधानमन्त्री प्रचण्डले सांसद तथा नेतालाई चुनाव प्रचारमा गाउँगाउँ जान निर्देशन दिनुभएको पार्टीका पोलिटब्युरो सदस्य एवं सांसद उमेश यादवले जानकारी दिनुभयो ।

लोडसेडिङ अन्त्य गरी उज्यालो युगको सुरुआत, १४०० किमिको हुलाकी राजमार्ग, महाकालीमा पुल, १४ वटा ठूला सडक र फास्ट ट्र्याक निर्माणको विषय आफ्नो पार्टी नेतृत्वको पालामा सुनिश्चित भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुगेको तथा मूल्यवृद्धि नियन्त्रण भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन पनि आफ्नै नेतृत्वको सरकारले गराउन सफल भएको कुरालाई जनतामा लैजान निर्देशन दिनुभएको सांसद यादवले जानकारी दिनुभयो ।
धेरै काम हुँदा पनि पार्टीले त्यसको फाइदा लिन नसकेको भन्दै उहाँले स्थानीय तहको निर्वाचनलाई सामान्य रूपमा नलिन सांसदलाई आग्रह गर्दै निर्वाचनभित्र राष्ट्रिय एकता तथा स्वाभिमान लुकेको र यसले हिमाल, पहाड र तराईलाई जोड्ने कामसमेत गरेको बताउनुभएको थियो ।

आजको गोरखापत्रवाट