सहारा घरको सहारा « Himal Post | Online News Revolution
Logo

सहारा घरको सहारा



विशाल पाण्डेय

करिब १ बर्ष पहिला कैलालीको लम्की सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेट्टाएर सहारा घरमा लगियो उनलाई। उनी अर्थात् , ३५ वर्षीय महेश कुँवर। बैतडी जिल्लाको पुर्चौडी नगरपालिका -८ का महेश घरायसी विवादमा परी मानसिक सन्तुलन गुमाएपछि सडकमा भौँतारिँदै लम्की पुगेका थिए। यसै क्रममा सहारा घरका सञ्चालक बलबहादुर बिष्टले सडकमा भौँतारिँदै गरेको देखेर आफ्नो सहारा घरमा आश्रय दिए।

समय बित्दै गयो र महेश पनि सहारा घरको माया, ममताले गर्दा पहिले जस्तै सामान्य अवस्थामा नै फर्किए। तिनै महेश  अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएका मानिसहरूको साहारा बनेका छन्। सबैको स्याहारसुसार गर्न पाउँदा आफूलाई छुट्टै आनन्द आउने महेश बताउँछन्। उनले भने, “म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ। सहारा घरको माया, स्नेहले बिना उपचार म निको भएँ।” सडकमा हिँडिरहेको देखेर बलबहादुर दाइले यहाँ ल्याउनुभयो।” उनले थपे, “बिना औषधि यहाँको मायाले म निको भएँ, हाम्रा लागि बलबहादुर दाइ भगवान् नै हुनुहुन्छ। अब म पनि यहीँ बसेर दाइ जस्तै अरूको सेवा गर्छु।”  मानसिक सन्तुलन गुमाई त्यहाँ बस्ने मानिसहरूलाई नुहाइदिने देखि लिएर खाना पकाएर खुवाउने काम समेत गर्छन् महेश।

महेशका गाउँमा आफ्नो घरपरिवार रहेका छन्। उनकी आमा, श्रीमती, एक छोरी र दुई छोरा रहेका छन्। आफू घरबाट हराएपछि छोरो फर्किन्न भनेर घरपरिवारले आस मारिसकेको महेशले बताए। उनले भने , “आफू एक्कासी घरबाट हराएपछि छोरो फर्किन्न भनेर घरपरिवारले खेत-बाख्रा बेचेर क्रिया खर्चको जोहो गर्दैरहेछन्।” उनले थपे, “सायद त्यस्तै हुन्थ्यो होला सहारा घरमा नल्याएको भए।” केही समय पहिला परिवार मिलन गराई महेश आफ्नो घरपरिवारसँग गए पनि यही सहारा घरमा सहयोग गरी बस्ने भन्दै पुन: फर्किएर आएको सहारा घरका सञ्चालक बलबहादुर बिष्टले बताए। उनले भने, “घरपरिवारले महेशको मृत्यु भैसकेको अनुमान गरी खेत-बाख्रा बेची क्रियाकर्म गर्न लागेको समयमा घर पत्ता लगाई परिवार मिलन गराउन  पाउँदा आफूलाई निकै खुशी लागेको थियो। महेशको घरको आर्थिक स्थिति कमजोर रहेकाले अहिले यहाँबाटै घर खर्च पठाइरहेको समेत सञ्चालक बिष्टले जानकारी दिए।

त्यस्तै सहारा घरमा बस्ने लम्कीचुहा नगरपालिका -१ थकालीपुरकी सुनिता (शान्ति) को पीडा पनि कहालीलाग्दो छ। उनी पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले भेटी सहारा घरमा पुर्‍याए। दुई छोरा र दुई छोरी रहेकी उनी पनि करिब १२ बर्ष अघिदेखि मानसिक रोगको सिकार भएकी थिइन्। अहिले उनलाई निको भएको छ। अहिले उनी त्यही सहारा घरमा अरूको सेवा गर्दै आइरहेकी छिन्। घर नजिकै भए पनि आफूलाई घर जान पटक्कै मन नलाग्ने बताउँछिन् शान्ति।

यस्तै टीकापुरको सडक पेटीमा १२ वर्षको उमेरमा फेला परेका बोल्न नसक्ने तर कान सुन्ने करिब २८ वर्षीय नाम थाहा नभएका मानिस २ वर्षअघिदेखि सहारा घरमा बस्दै आइरहेका छन्। अहिले उनी पनि मानसिक रोगबाट मुक्त भई सामान्य अवस्था फर्केर सहारा घरमा हुने विभिन्न कामहरूमा सहयोग गर्छन्। उनले नयाँ जीवन सँगै नयाँ नाम समेत पाएका छन्। सहारा घरले उनको नाम ‘टीकापुरे कान्छा’ राखेको छ।

यी त उदाहरण पात्रमात्र हुन्। सहारा घरमा उपचार बिना नै कैयौँ मानसिक सन्तुलन गुमाएर बसेका मानिसहरू निको भएर कोही यहीँ बसेर सेवा गरिरहेका छन् भने करिब ५१ जना निको भएर परिवारसँग मिलन भइसकेका छन्।

सहारा घरमा, स्वास्थ परीक्षणका लागि स्वास्थकर्मी तथा एम्बुलेन्सको पूर्ण अभाव भएको सञ्चालक बिष्टले बताए। उनले भने, ‘विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले अशक्त तथा असहायहरूलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिए पनि कुनै पनि किसिमको सहयोग नगरेको हुँदा आउने व्यक्तिहरूलाई गाँस-बासमा समस्या हुने गरेको छ।” बिष्टले खर्च नहुँदा आफूसँग भएको खेतबारी बिक्री गरेर खर्च चलाइरहेको समेत बताए।

स्थानीय तथा प्रदेश सरकारको सहयोग  

२०७० सालमा एक जना सडकमा बस्दै आएका वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिहरूको स्याहार गर्ने सोच बनाई सञ्चालनमा ल्याएको सहारा घरमा अहिले ४४ जना मानसिक रोगीहरू बस्दै आइरहेका छन्। सुरुमा आफ्नै घरबाट सञ्चालनमा ल्याएको सहारा घरमा सदस्य बढ्दै गएपछि २०७१ सालदेखि बर्दगोरीया मन्दिर नजिकै सारेको सञ्चालक बिस्टले जानकारी दिए।

सहारा घरमा सुरुमा कसैले सहयोग नगरे पनि पछिपछि भने बिस्तारै सहयोग आइरहेको सञ्चालक बिष्टले बताए। विभिन्न व्यक्ति, सङ्घसंस्था, स्थानीय तथा प्रदेश सरकारद्बारा सहयोग गरिरहेको बिष्टले जानकारी दिए। बर्दगोरिया गाउँपालिकाले २०७४ सालमा माटो पटानीका लागि ५ लाख उपलब्ध गराएको उनले बताए। यस्तै लम्कीचुहा नगरपालिकाले ३ लाख तथा टिकापुर नगरपालिकाले माटो सम्याउन १ लाख रुपैयाँ उपलब्ध गराएको सञ्चालक बिष्टले जानकारी दिए।

त्यस्तै अहिले सुदूरपश्चिम सरकारको भौतिक तथा योजना मन्त्रालय अन्तर्गत रहेर सहारा घरमा खानेपानीका लागि  डिप बोरिङ गाड्ने काम भैरहेको सञ्चालक बिष्टले जानकारी दिए। साथै माननीय सांसद विकास कोषबाट नन्द बहादुर साउदले सहारा घर घेरबारका लागि ८ लाख बराबरको एयरपोर्ट जाली उपलब्ध गराएको र धनगढी उपमहानगरपालिकाले भवन निर्माणका लागि ५ लाख सहयोग गरेको बिष्टले जानकारी दिए।

भारतीय नागरिक बढी 

घर परिवारबाट अपहेलित, असहाय, घरपरिवार विहीन तथा अपहेलनामा परेका सहारा विहीनहरूको स्याहारसुसार गर्ने व्यक्तिहरूलाई साहारा दिइरहेको सहारा घरमा भारतीय नागरिकहरू बढी रहेका छन्।

मानसिक सन्तुलन गुमाई सडकमा हिँडिरहेको देखेर आफूले सहारा घरमा ल्याएर साहारा दिइरहे पनि सन्चो भएपछि उनीहरूलाई घरपरिवारसँग मेलमिलाप गराउन नपाइएको बिस्टले गुनासो गरे। उनले भने, “हामीले सहारा घरमा ल्याएर पहिलेको जस्तै सामान्य अवस्थामा नै फर्किए पनि परिवारसँग भेट नगराई त्यसै राख्‍नु पर्ने बाध्यता रहेको छ।”

सहारा घरमा बस्दै आएका नेपाली मानसिक तथा अन्य रोगीहरूलाई सन्चो भएपछि आफन्तहरूसँग मेलमिलाप गराउदै आए पनि भारतीय नागरिकलाई भने घरपरिवारसम्म पुर्‍याउन नेपाल सरकारले कदम चाल्नुपर्ने बिष्टको धारणा छ। नेपाल सरकारले पहल गरी मानसिक सन्तुलन गुमाएका तथा ठीक भएका नागरिकहरूलाई भारतमै रहेका विभिन्न आश्रम तथा संस्थाहरूमा जिम्मा लगाउन सक्ने बिस्टले बताए।

खुला सीमा नाकाका कारण मानसिक सन्तुलन गुमाएका भारतीय नागरिकहरू बढी नेपालमा भित्रीने गरेको बिस्टले बताए। सीमा नाकामा क्षेत्रमा अलि कडा गर्ने हो भने पनि मानसिक सन्तुलन गुमाएका भारतीयहरू नेपालमा आउन केही भए पनि कम हुने उनले बताए।