साँच्चै प्रचण्ड ! तिमी महान् रहेछौ । - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

साँच्चै प्रचण्ड ! तिमी महान् रहेछौ ।



-दीपक घिमिरे

आमूल परिवर्तनको सपना बोकेर माओवादीले हतियार उठाउदै देखि नेपाली समाजमा प्रचण्डका बारेमा टीका टिप्पणी हुन थाले । कहिले सकारात्मक टिप्पणी हुन्थे भने कहिले नकारात्मक । तर समग्रमा प्रचण्डलाई नकारात्मक रूपमै नेपाली समाजले बुझ्यो । प्रचण्डको बुई चढेर नेपाली राजनीतिमा हैसियत बनाउनेहरु पनि प्रचण्डको नकारात्मक खेदो खन्न पछि परेनन ।

प्रचण्ड एउटा यस्ता पात्र हुन जस्लाई काधमा नबोक्दा सम्म नेपाली राजनीतिले नयाँ मोड लिदैन । सत्ता परिवर्तनको खेलका लागि होस या संविधान संशोधनका मुद्दामा होस , सदैव प्रचण्डको मुख्य भूमिका रहदै आयो । तर पनि प्रचण्डले यी सबै कुराको नकारात्मक अपजस मात्र लिन पाए । सकारात्मक जस लिएर हिरो बन्नेहरु प्रचण्डले साथ दिएर हैसियत बनाउनेहरु नै भए ।

कहिले सत्र हजारको हत्यारा प्रचण्ड बने त कहिले देश टुक्र्याउने लेण्डुपे प्रचण्ड बने । कहिले लम्पसारबादी प्रचण्ड बने त कहिले भारतीय दलाल प्रचण्ड बने । तर विचलित कहिले भएनन । उहीँ बाटोमा हिडिरहे जुन बाटो उनले आफै प्रचण्डपथको नाम दिएर खनेका थिए ।

हो मानिस भित्र आ-आफ्नै कमी कमजोरी अवश्य हुन्छन् । प्रचण्ड भित्र कमजोरी नभएको चैँ पक्कै होइन । उनलाई कहिले नातावादमा फसेको आरोप लगाईयो त कहिले अकुत सम्पत्ति कमाएको आरोप लगाईयो । त्यो मैले विश्लेषण गर्ने दायरा भित्र पर्दैन किन कि हावामा उनको निजी मामलामा विश्लेषण गर्ने अधिकार मलाई छैन । तर उनको बिचार अनि उनको व्यक्तित्वलाई देखेर यति बेला सम्पूर्ण देशवासीले प्रचण्डलाई एक पटक सलाम ठोकेका छन् । यति बेला मैले पनि उनलाई मनै देखी सलाम गरेको छु ।

एउटा सन्तानको माया कति हुन्छ भनेर आफ्नै सन्तान भएका बाउ आमालाई सोध्न सकिन्छ । आफू जिउदै हुँदा आफ्नै सन्तानको सब आफै बोकेर घाट सम्म पुर्‍याउन कुन चैँ बाउले सक्छन् र ? तर प्रचण्ड एउटा यस्ता बाउ रहेछन् जसले पिडालाई मुटुमा अनि आँसु लाई आखामा लुकाएर एक मात्र छोराको सब बोकेर हिडे । उनी साँच्चै एउटा सिपाही रहेछन् जसले पीडा लुकाउन सक्दो रहेछ ।

संसार जित्न निस्केका माओवादीहरू समयको माग र नेपाली जनचाहना बुझ्दै शान्ति प्रक्रियामा आए । माओवादी शान्ति प्रक्रियामा आए सँगै सुरु भए प्रचण्ड माथि नकारात्मक टिकाटिप्पणी । उनलाई गिराउन चाहनेले उनका एकमात्र छोरा प्रकाश दहाल माथि झटारो हान्न थाले । प्रचण्डलाई कमजोर साबित गर्न उनको घरायसी मामलामा घोचपेच सहितका स्टाटस अनि लेख हरू सामाजिक सञ्जाल छाउन थाले । कति सत्य थिए होला अनि कति असत्य पनि ।

सर्वहाराबर्गको पहुचमा सत्ताको चाबी पुर्‍याउन दस बर्से जनयुद्धमा होमियका प्रचण्ड पुत्र प्रकाशको जीवनलाई धरापमा पार्न पुरै मिडिया खनिय तर पनि प्रचण्ड विचलित भएनन । उनी आमूल परिवर्तनको महान् दिशामा अघि बढदै थिए । यस्ता झिना मसिना कुरामा अडकियनन ।
दस बर्से जनयुद्ध नेपाली समाजको माग थियो । माओवादी भित्रका सीमित नेताहरूको निजी स्वार्थका निम्ति थालिएको युद्ध थिएन जनयुद्ध । हो कालान्तरमा दुईचार जना स्वार्थी नेताहरूको कारणले जनयुद्धका उपलब्धि गुम्ने खतरा देखिएता पनि प्रचण्डको अधिकतम लचकता अनि नेतृत्व क्षेमताले गर्दा देशले कोल्टे फेर्‍यो । हामी गणतान्त्रिक नेपालको नागरिक बन्न सफल भयौ अनि देशले सिंहदरवारको हैसियत गाउँ गाउँ सम्म पायो ।

प्रचण्डलाई गाली गर्नेहरुको जमातले प्रचण्डलाई कहिले सकारात्मक दृष्टिले हेरेन । अस्ति प्रचण्डका एक मात्र सुपुत्रको निधन हुँदा समेत ती पात्र हरू मजाले हासे जो प्रचण्डलाई पतन भएको हेर्न चाहन्थे । मानवीय स्वभाव नभएका दानबिय चरित्र भएकाहरुले सामाजिक सञ्जाल भर्दै खुच्चिङ गर्दै बल्ल खायो भन्न सम्म भ्याए । के साँच्चै प्रचण्डलाई परेको बज्रपातले हामी नेपालीको मन रुदैन त ?

उनी आमूल परिवर्तनको सपना देखेर युद्धको मोर्चा सम्हाले । जन चाहना बुझेर देशलाई शान्ति प्रक्रियामा पुर्‍याए । सिंहदरवारको हैसियत गाउँ गाउँ सम्म पुर्‍याए । एउटा गरिब किसानको छोरालाई सत्तामा पहुच राख्ने हैसियत बनाउन रातदिन लागिरहे । तर पनि नेपाली समाजमा यस्ता पात्र भेटिए जसले प्रचण्डको दुखमा मल्हन लगाउनुको साटो बल्ल खाईस र खुच्चिङ गर्दै दीपावली मनाए ।

छोराको लासमा पार्टीको झन्डा ओढाएर सलाम ठोक्दा उनको अनुहार कस्तो थियो त्यो हामी सबैले देख्यौ । तर पनि उनले आँसु लुकाउने प्रयास गरे । किनकि उनी गले भने देश गल्थ्यो । उनी आफूलाई सम्हाल्न खोजे । देशकै उच्च तहका नेता , वर्तमान नेपाली राजनीतिको निर्णायक व्यक्तिको छोरा भएर पनि प्रकाश दाहाल एउटा सालिन र भद्र युवा थिए । जसको उदाहरण उनी सँग नजिक भएकाहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका च्याट बाट प्रस्टै हुन्छ । उनी घमण्डी या गलत प्रबृतीका हुन्थे भने दाङमा बसेर सङ्घर्ष गर्ने एउटा पिउसोले उनी सँग जिस्कदै गफ गर्ने हैसियत सपनामा पनि देख्दैनथ्यो । पूर्व मेची देखि पश्चिम महाकाली सम्म उनका शुभचिन्तक थिए जो सँग उनी हरेक दिन फोनमा या च्याटमा गफिन्थे ।

एउटा हैसियतै नभएका जिल्लास्तरिय नेताका सन्तान सँग हाम्रो पनि सङ्गत छ तर उ आफूलाई प्रकाश भन्दा माथिको हैसियत वाला देखाउछ । एउटा सामान्य राज्यमन्त्रीको छोरा युरोप या अस्ट्रेलिया बसेर उच्च शिक्षा अध्यन गर्छ या उतै बसेर ब्याबसाय गर्छ तर प्रकाश युद्धकालभरी हतियार बोके अनि शान्ति सम्झौता पछि सामान्य कार्यकर्ता मै सीमित भए । तर पनि नेपाली समाजका केही उरण्ठेउलाले कहिले नव(युवराज भनेर बदनाम गर्न खोजे त कहिले पारसको ठाउँमा राखेर गाली गरे ।

आजको परिवर्तनमा प्रकाश दाहालको पनि हात छ भनेर कहिले बुझेनन । अनि एउटा मात्र सन्तान गुमाउदा गलेका प्रचण्डलाई गिज्याउदै बल्ल खाईस भन्नेहरु सामाजिक सञ्जालमा प्रसस्तै भेटीए । प्रचण्ड कुनै दल विशेषका मात्र नेता पटक्कै होईनन । उनी देशकै नेता हुन ।
साँच्चै प्रचण्ड ! तिमी महान् रहेछौ । एउटा छोरा मर्दा तिमी गल्नु पर्दैन । हजारौँ छोराहरूले तिमीलाई आमूल परिवर्तनको नायक मान्न तयार छन् । राजनैतिक परिवर्तन चाहने र नयाँ नेपालको सपना देख्ने हरेक युवा तिम्रो छोरा बन्न तयार छ , तिमी विचलित नभएरै अघि बढ ।