साहित्य तृष्णाद्वारा श्रष्टाहरु सम्मानित - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

साहित्य तृष्णाद्वारा श्रष्टाहरु सम्मानित



दार्जिलिङ: पहाडकी रानी भनेर परिचित दार्जिलिङबाट प्रकाशित हुने पत्रिका साहित्य तृष्णाको बाल परिशिष्टाङ्क विमोचनको अवसरमा आइतबार नेपाली साहित्यमा योगदान गरिरहेका दुई साहित्यकारहरूलाई सम्मान गरिएको छ । साहित्यकार एम पथिकलाई साहित्य तृष्णा सम्मान र कवि पवित्र लामालाई स्व. सुमिता राई स्मृति पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कवि बच्चु हिमांशुले आफ्ना तीनवटा कविता प्रस्तुत गरेका थिए । उनलाई कार्यक्रमका संयोजक कवि नरेश कटुवालले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए। त्यस्तै, स्थानीय कविहरू निमेष सुब्बा सिकारु, प्रविन्ता भुजेल र योगिता राईलेपनि आआफ्ना कविता प्रस्तुत गरेका थिए ।

डा. गोकुल सिन्हाले अध्यक्षता ग्रहण गरेको उक्त कार्यक्रममा डा. कविता लामा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । पत्रिकाको विशेषाङ्क विमोचनकै अवसर पारेर साहित्य तृष्णा पत्रिकाको अङ्ग्रेजी संस्करण र कवि नरेश कटुवालको कविता कृतिको अङ्ग्रेजी अनुवाद ‘ब्रुजेज अफ भिलेज’पनि लोकार्पण गरिएको थियो । बाल परिशिष्टाङ्कको सम्पादन कवि रोशन राई चोटले गरेका हुन् । पत्रिकाको अनुवाद रसिक क्षेत्रीले सचिना तामाङको सहयोगमा गरेका हुन् भने लेखक तथा पत्रकार निशा वर्निका क्षेत्रीले नरेशको कविता कृति अनुवाद गरेकी हुन् ।

दार्जिलिङ स्थित नेपाली साहित्य सम्मेलनको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्य तृष्णा पत्रिकाद्वारा आयोजित बाल साहित्य प्रतियोगिताका विजयीहरूलाई पुरस्कृत गरिएको थियो ।

कवि रोशन राईकी दिवङ्गत आमा सुमिता राईको स्मृतिमा स्व. सुमिता राई स्मृति पुरस्कार स्थापना गरिएको हो ।