साइँला दाईको देश !! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

साइँला दाईको देश !!



हेमन्त गिरी

‘आगोले पोल्दैन ?’ भनी सोध्दा
उनी भन्छन- आगोले मलाई चिनेको छ
‘हिंऊँले ठिहिर्याऊँदैन ?’ भनी प्रश्न गर्दा
उनी भन्छन- मलाई हिउँले पनि चिनेको छ
विवसता पिएर बर्बराउँदै हिंड्दा कैलकाहिं
‘बाटोले धोका दिंदैन ?’ भनी सोध्दा
उनी भन्छन- मलाई बाटोले चिनेको छ !
पीर पिएर लड्खडाउँदै हिंड्दा ज्यादातर
‘भिरले गर्भमा लिंदैन ?’ भनी डर देखाउँदा
उनी भन्छन- मलाई भीरले पनि चिनेको छ !
मर्दा पर्दा कोही
साइँला दाइ नै अघि लाग्छन बन्चरो बोकेर उनलाई बगरले पनि चिनेको छ !
तन्त्रहरू चाहिंदा मालिकहरूलाई
साइँला दाई नै छाती थाप्छन अग्र मोर्चामा बसेर

उनलाई सडकले पनि चिनेको छ !
घामको पहिलो झुल्कोसंगै उनै पुग्छन
बेहुलीको डोली बोकी पल्लो गाउँमा

उनलाई घामले पनि चिनेको छ !
झ्याउँकिरीको गीत संगै फर्किन्छन
कोशेलीको सोली बोकी दुरान बाट

उनलाई जुनले पनि चिनेको छ !
बसपार्क बाट घर सम्म पनि हिंड्न नसक्ने
बिकासे केटाकेटीलाई कांधमा बोकी
उनै पुग्छन बराजुको आँगनमा

उनलाई उकालोले पनि चिनेको छ !
सहरिया सन्तानको घरमा नअटेका
बुढाबुढी पिठ्यूँमा राखी
उनै पुग्छन सदरमुकामको अस्पतालमा

उनलाई ओह्रालोले पनि चिनेको छ !
मौजाको बाली स्याहार्न मुखियाहरू मधेस झर्दा
घाँस पराल खान पाउने ठूला घरका वस्तुभाऊले पनि
उनलाई चिनेका छन !
मनको आगलागी निभाउन जाँदा
समयको झन ठूलो ज्वाला देखाइदिने
इनार-तलाऊले पनि
उनलाई चिनेका छन !
धर्तीले-गगनले
पंक्षीले-पवनले
फूलले-पातले
बादलले-वर्षातले
नदीले-जंगलले
चोक,चौतारा र बर पीपलले….
सबले चिनेका छन साइँला दाइलाई !
सबले चिनेका साइँला दाईलाई
कसैले यदि चिनेका छैनन त
मात्र दुई थरीले..
एक- उनकै वरपरका मानव आकारले
दुई- उनको पहुँच भन्दा कैयौं परको सरकारले !
किनकि,
यो देश साइँला दाईको देश हैन !
नागरिकता बालेर
पुष-माघ छल्नेको पनि कुनै देश हुन्छ ?!
अँ, साँच्ची,
तपाईंको देश कुन हो ?!
✍️हेमन्त गिरी,टोकियो