सुकुम्बासीलाई जग्गा वितरण गर्न सैनामैनामा नापजाँच सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुकुम्बासीलाई जग्गा वितरण गर्न सैनामैनामा नापजाँच सुरु



बुटवल- रुपन्देहिको सैनामैना नगरपालिकामा जग्गा नापजाँचको काम सुरू भएको छ । नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु गरेको हो ।

शुक्रबारदेखि वडा न. १ को बनकट्टाबाट जग्गा नापजाँच सुरू गर्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्द्ता जनाए ।

शर्माले जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानत सरकारले सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताए । आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै उनले सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक, पत्रकार सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले आग्रह गरे। उनले भने, नापी सुरु भए पनि पहिलेको जस्तै धोका हुने हो कि ‘नापी त सुरु भयो तर, पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन कि। चुनावी नारा मात्र हुन् कि !, भन्ने जनतामा आशंका उत्पन्न भएको होला ।’

“संविधानले प्रदत्त गरेको अधिकारले भुमिहिन दलित, सुकुम्बासीलाई भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको छ र एक पटकका लागि सबै सुकुम्बासीलाई जग्गाधानि लाजपुर्जा उपलब्ध गराउने छौँ ढुक्क हुनुस् ।” उनले भने ।

वडा नम्बर १ का अध्यक्ष भुवन सिंह क्षेत्रीले बर्सौदेखि बसोबास गर्दै आएका भुमिहिनलाई जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडि बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गरे ।