रवीन्द्र मिश्रको प्रस्तावले विवेकशील साझा पार्टीमा तनाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रवीन्द्र मिश्रको प्रस्तावले विवेकशील साझा पार्टीमा तनाव



काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावले पार्टीको एकता नै धरापमा परेको छ । भर्खरै मात्रै एकता गरेको पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमा आपत्ति जानेका छन् ।

संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न मिश्रले राखेको प्रस्तावप्रति पाण्डेले आपत्ति जनाएका हुन् । पाण्डेले ट्विटमार्फत घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशिता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको बताएका छन् ।

उनले विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ रहेको उनले बताएका छन् । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ भएको पनि उनले बताएका छन् ।

यसअघि मिश्रले बहसका लागि भन्दै ४४ पृष्ठ लामो धारणा सार्वजनिक गरेका थिए । मिश्रले स्थानीय तहको पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।

वैकल्पिक शक्ति बनाउने भनेर सुरू एकता गरिएको केहि समयमै पार्टीमा द्वन्द्वको अवस्था देखिएको एक नेता बताउँछन् । एकताकै समयमा पनि तत्कालिन विवेकशील नेपाली दलका केहि नेताहरूले मिश्रसँग एकता गर्नु आत्मघाती हुने बताउंदै आएका थिए ।