साकारको क्रियाकलाप पछि सामाजिक संजालमा आयो यस्तो अनुरोध - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

साकारको क्रियाकलाप पछि सामाजिक संजालमा आयो यस्तो अनुरोध



हिमाल पोष्ट/काठमाडौं

हालैका दिनहरुमा अस्ट्रेलियामा बस्ने एकजना ‘साकार अधिकारी’ नामको भिडीयोले उसको परिवार,आफन्त,साथीभाई,समाज देखि देश नै हलचल भएको कुरा त यहाँहरुलाई थाहा नै होला ।

उक्त केटोलाई खुसी र सुख सुविधा दिन उसका अभिभावकले के सम्म गरेनन होला ? तर उसकै आमाले बाध्य भएर सामाजिक संजालमा “मरेको मान्छे ल्याइदिनेहरु,मेरो छोरालाई जिउँदै नेपाल ल्याइदिनोस,म थाकिसकें” भनेर लेखिन । एउटी आमाले लेखेको यो वाक्य धेरै गहिरो वाक्य हो । सो वाक्यमा छोरोको क्रियाकलाप बाट हार खाएको पिडा पनि देखिन्छ,अनि समाजसेवाको नाममा विदेशमा खुलेका अनेकौं संघ संस्थाले ‘लाश नेपाल पठाउने’ बाहेक ‘जिउँदाहरु’ को लागि केहि गर्न नसकेको प्रति व्यंग्य र चुनौती पनि देखिन्छ । ख़ैर,दोश्रो कुरा तर्फ अहिले नजाऊँ ।

तपाइँले आफ्ना सन्तानलाई खुसी र स्वतंत्रता दिने नाममा कतै यस्तै बाटोमा धकेलिरहनु भएको त छैन ? सजग हुनुहोस । सन्तानलाई माया त गर्नुहोस,तर निगरानी पनि गर्नुहोस । हाम्रो समाज पश्चिमी समाज जस्तो समाज होइन । हामीहरु आजका दिनसम्म जे-जस्तो भए पनि अनुकूल भएसम्म पारिवारिक सद्भावमा बाँच्दै आएको समाज अन्तर्गत पर्छौं । यस्ता घटना र पात्रले हाम्रो संस्कार र सभ्यतालाई नै चुनौती दिन्छन ।

हो,आजकल प्रविधिको विकास संगसंगै नयाँ पूस्ता धेरै ‘इंटेलिजेंट’ बन्दै गइरहेको छ तर साथसाथै प्रविधि र विज्ञानका आविष्कारलाई सही सदुपयोग गर्न नसक्ने नयाँ पूस्ता एकदमै गलत मार्गमा फ़सेका उदाहरण पनि प्रशस्त छन ।

अचेल नेपालमा ‘पंकी’ हुने,गिटार समाउने,र्याप गाउने,र्याप बेटल गर्ने जस्ता क्रियाकलापलाई ‘टीनएजर’ हरुले आधुनिक हुने नाममा अलि बढ़ी नै ‘मिसयूज’ गरिरहेक़ा छन । विकसित देशका ठिटाठिटीको सोंच पनि विकसित हुन्छ,उनीहरु यस्ता क्रियाकलापमा संलग्न भए पनि आफ्नो दैनिकी र अन्य कामहरुमा ‘ब्यालेन्स’ राख्छन । तर हाम्रा भाईबहिनीहरुमा त्यो ख़ूबीको कमी देखिएको छ । र्याप गाउने हुने बित्तिक़ै ‘एग्रेसन’ मा आउन चूरोट,रक्सी,गाँजा लगायतका नशाजन्य पदार्थ ख़ानुपर्ने,आपसमा लड्नुपर्ने,आपराधिक काम गरेर चर्चामा आइरहनुपर्ने जस्ता सोंच बाट हाम्रा भाईबहिनी,छोराछोरी ग्रसित हुँदै गइरहेक़ा छन । यस्ता क्रियाकलापमा लागेर नाम कमाएकाहरु नै आत्महत्याको विकल्पमा पुगेको उदाहरण पनि हामी सामू छन ।

कतै तपाइँको बच्चा पनि समयमा घर आउँदैन,आए पनि एक्लै बस्छ,अनौठा क्रियाकलाप देखाउँछ,आफन्त साथीभाई आउँदा पनि वास्तापास्ता नगरी एक्लै कोठामा मोबाइल,गिटार,वा अन्य कुरामा गढिरहन्छ भने ठान्नुहोस,केहि गड़बड़ छ,निगरानी बढ़ाउनु पर्ने देखियो । निगरानी बढ़ाउनुको अर्थ ‘टर्चर’ गर्नु होइन । सही परामर्श र मार्गदर्शन गर्नु पनि हो । आख़िर भोली सन्तानले गलत बाटो समायो भने दुनियाँको काम त या ‘थुइय’ गर्ने हुन्छ,या ‘च्व च्व’ गर्ने हुन्छ ,पिडा भोग्ने त तपाइँले हो जसरी अहिले साकारकी आमाले भोग्दै हुनुहुन्छ ।
सन्तानका गतिविधिमा सचेत रहनुहोस !

हेमन्त गिरी