२५ वर्षीय सलाहको गन्तव्य रियल म्याड्रिड नै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

२५ वर्षीय सलाहको गन्तव्य रियल म्याड्रिड नै



म्याड्रिड (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा लिभरपुलबाट आक्रमण सम्हाल्दै तहल्का मच्चाइरहेका विंगर मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना बढेको छ । २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित समग्रमा सबै प्रतियोगितामा ४० गोल गरेका छन् ।

गत सिजन मात्र एएस रोमाबाट प्रिमियर लिग आएका सलाहले पहिलो खेलदेखि नै आफ्नो कौशल देखाए । यसअघि चेल्सीबाट प्रिमियर लिग खेलेपनि उनी जम्न सकेका थिएनन् । आक्रमणमा उनलाई साडियो माने र रोबर्टो फिर्मिनोले राम्रो साथ दिइरहेका छन् । सलाहको उत्कृष्ट प्रदर्शनकै कारण लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको टोलीले अब फाइनल प्रवेशको निम्ति सलाहकै पूर्वक्लब रोमाको सामना गर्दैछ ।

पछिल्ला केहि वर्षमा रियल म्याड्रिडले प्रिमियर लिगका क्लबबाट खरिद गरेको मुख्य खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । म्यानचेस्टर युनाइटेडबाट क्रिस्टियानो रोनाल्डो र टोटेनहम हट्स्परबाट ग्यारेथ बेलले रियल म्याड्रिडको सफलतामा ठूलो भूमिका खेलिरहेका छन् । लिभरपुलबाट उत्कृष्ट प्रदर्शन गरिरहेका सलाहलाई त्यसै सुचिमा समावेश गर्न रियल म्याड्रिड आतुर रहेको बुझिन्छ ।

यसैबीच इजिप्टका दिग्गज फुटबल खेलाडी मिडोले सलाह रियल म्याड्रिड जना तयार भइसकेको बताएका छन् । आफ्नो जमानामा प्रिमियर लिग र ला लिगामा राम्रो छाप बसाएका स्ट्राइकरले सलाहको लागि रियल म्याड्रिड नै उत्तम गन्तव्य भएको बताए । सलाह रियल म्याड्रिडसँग अनुबन्धित भएमा दुवै पक्ष फाइदामा रहने उनको बुझाई छ ।

‘ रियल म्याड्रिडलाई उनको खाँचो छ । ग्यारेथ बेल र करीम बेन्जेमाले रियलको स्तरको प्रदर्शन गर्न सकेको अवस्था छैन । जसरी सलाहले लिभरपुलबाट खेलेका छन्, रियल म्याड्रिड उनको लागि राम्रो विकल्प हो,’ मिडोले भने ।

‘मलाई लाग्छ मेरो यो भनाइमा सबै सहमत नहोलान् । तर सलाह इजिप्टको फुटबल इतिहासकै सर्वकालीन महान खेलाडी बनिसकेका छन् । रियल म्याड्रिडमा जानुले पनि यसलाई अझै सिद्ध पार्नेछ ।