सरकारसँग टसल परेपछि समाज कल्याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा « Himal Post | Online News Revolution
Logo

सरकारसँग टसल परेपछि समाज कल्याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा



काठमाडौँ- समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा बुझाएका छन् । उनीहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले बिहीबारै राजीनामा दिएको परिषद्का उपसचिव दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।

पदाधिकारीहरूले भने सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रूपमा राजीनामाका लागि दबाब दिएको आरोप लगाएका छन् । उपाध्यक्ष खतिवडाले मन्त्री नभएको अवस्थामा प्रधानमन्त्री नै परिषद्को अध्यक्ष हुने र अध्यक्षबाटै वार्षिक नीति, कार्यक्रम तथा अन्य गतिविधिको स्वीकृति लिनुपर्ने भएकाले त्यस क्रममा राजनीतिक टसल परेपछि राजीनामा दिएको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ । ‘नीति तथा कार्यक्रम र बजेट नै स्वीकृत भएन । कर्मचारीलाई तलबसमेत खुवाउन सकेनौँ । यतिसम्म कि हरेक वर्ष ६ असोजमा मनाइने सामाजिक सेवा दिवससमेत मनाउन पाइएन,’ खतिवडाले भने, ‘त्यही कारण राजीनामा दिएर बाटो खुला गर्‍यौँ ।’