समाजवादी पार्टी फुट्नबाट रोक्न भट्टराई र यादवको अन्तिम कसरत - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

समाजवादी पार्टी फुट्नबाट रोक्न भट्टराई र यादवको अन्तिम कसरत



काठमाडौं- दल विभाजनको प्रावधान खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ।

पार्टी नेतृत्वसँग असन्तुष्ट वरिष्ठ उपाध्यक्ष रेणु यादवसहितका केही सांसदले विभाजनको तयारी गर्न थालेपछि बुधबार दिनभर अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले उनीहरुलाई फकाउने प्रयास गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवीन झाले लेखेका छन्।

नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठसहित अध्यक्ष भट्टराईले बुधबार नेतृ यादवको निवासमै पुगेर छलफल गरेका थिए।

‘उहाँहरु आउनु भएको थियो, पार्टी विभाजनसम्बन्धी बाहिर चलिरहेको हल्लाबारे जिज्ञासा राख्नुभयो,’ नेतृ यादवले भनिन्।

तर, तपाईंहरुबीच सहमति भयो त भन्ने प्रश्नमा उनी बोल्न चाहिनन्। अध्यक्ष भट्टराईले पार्टी विभाजनको हल्ला चिर्न नेतृ यादवलाई विज्ञप्ती निकाल्न आग्रह गरेका थिए। तर, उनले मानिनन्।

बरु पार्टीभित्र आफूलाई अपमानित गरिएको भन्दै गुनासो गरिन्।

अध्यक्ष उपेन्द्र यादवले नै आफूलाई पार्टीको प्रदेश निर्वाचनमा हराएको आरोप पनि उनले लगाएकी थिइन्।