समाजवादीमा चुलियो बिबाद: पार्टी फुट्ने सङ्केत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

समाजवादीमा चुलियो बिबाद: पार्टी फुट्ने सङ्केत



काठमाडौं- भर्खरै मात्र नयाँ शक्ति नेपाल र संघिय समाजवादी फोरमको एकताबाट बनेको समाजवादी पार्टी फुट्ने स्थितिमा पुगेको चर्चा हुन थालेको छ।

सरकारमा पनि सहभागी रहेको समाजवादी पार्टीको संघीय परिषद बैठक सुरु भएको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका छन् । तर, सत्ताको स्वादमा झुमेका पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट बाहिरिने पक्षमा छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा विकल्प खोज्न निर्देशन दिएपछि उपेन्द्र यादव भने सुनेको नसुनेझैं गरी सरकारमै टाँसीइरहने मनस्थितिमा छन् । पार्टीका वरिष्ठ नेताहरूले सरकारमा बसिरहन उचित नरहेको चर्चा गरिरहँदा पनि उनले भने वास्ता गरेका छैनन् ।

संघीय परिषद बैठक चलिरहेका बेला पनि पार्टी अब सरकारमा बस्न नहुने दबाब परिरहेको छ भने डा. बाबुराम भट्टराइले सरकार छाड्नेपर्ने निष्कर्ष निकालेका छन्

स्रोतका अनुसार बाबुराम र उपेन्द्रबीच पछिल्लो समय सरकारमा बसिरहने वा छोड्ने भन्ने विषयमा बिबाद चर्किएको छ । बाबुरामले पार्टी जति लामो समय सरकारमा बस्छ, त्यतिनै ठूलो क्षति व्यहोर्नुपर्ने खतरा औंल्याएका छन् ।

सरकारबाट बाहिरिन विलम्ब गर्न नहुने भट्टराईको अडान बैठकमा पनि प्रस्तुत भएको छ । तर, यादवले अहिले सरकारबाट हट्न नहुने आफ्नो अडान कायम राखेका छन् । अधिकांश केन्द्रिय सदस्यहरु सरकारबाट बाहिरिनुपर्ने पक्षमा उभिएका छन् । यादव अहिले अल्पमतमा परेका छन् ।

संविधान संशोधन गर्ने मूल एजेण्डासहित सरकारमा गएको पार्टी उद्देश्यविपरित अन्यत्र अलमलिएको पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरुको गुनासो छ । यादवले मधेशी जनताको भावनामाथि खेलबाड गरेको समाजवादी पार्टीकै कार्यकर्ताहरुको आरोप छ ।

संविधान संशोधन त परै जाओस, मधेश आन्दोलनका घाईते तथा अपांगहरुलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोग समेत नगरेको यादवमाथि आरोप लाग्दै आएको छ । बाबुरामले यादवले सरकारबाट फिर्ता हुने निर्णय नगरे पार्टी फुटाएर भएपनि अघि बढ्ने सोच बनाएको उनीनिकट उच्च स्रोतको दाबी छ ।

भट्टराईद्धारा बिहिबार सार्वजनिक समाजवादी पार्टी निर्माण र आगामी कार्यभार शिर्षकको राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरी सरकार छाड्ने उल्लेख छ । प्रतिवेदनमा सरकारमा समाजवादी पार्टी सहभागी भएपनि प्रदेश प्रमुखहरु हटाउँदा एकलौटी निर्णय लिइएको भन्दै असन्तुष्टि जनाइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृया नबढाएमा सरकारबाट बर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्नेछ ।’

प्रतिवेदनमा संविधान संशोधनका लागि जनसंघर्षको विकासमा समेत जोड दिइएको छ । यसबाट उसले सरकार छाडेर सडकमा जाने रणनीति लिएको संकेत गरेको छ । तर, अहिलेसम्म धेरैपटक सरकार छाड्ने भन्ने चर्चा भएपनि उपेन्द्रले बालहठ गरेकै कारण सरकार छाड्ने निर्णय भएको छैन। अहिले यादव पार्टीमा अल्पमतमा छन् । उनले सरकारमा बसेर पनि उल्लेख्य काम गर्न नसकेको, पार्टीको एजेन्डाबिपरित सरकारमा बसेको, सरकारमा बसेर विभिन्न कारणले पार्टीकै बदनाम गरेको आरोप पार्टी भित्रैबाट लागेको छ ।

सरसर्ती हेर्दा यस्तै अवस्थाले निरन्तरता पाउने हो भने, पार्टी लामो समयसम्म चल्न नसक्ने जानकारहरू बताउँछन । उपेन्द्रको बालहठ र बाबुरामको दबाबले पार्टीको अवस्था फुटसम्म पुग्न समय नलाग्ने उनीहरूको निष्कर्ष छ ।