समानुपातिक गणनामा एकीकृत समाजवादीको भोट भेटिनै छाड्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

समानुपातिक गणनामा एकीकृत समाजवादीको भोट भेटिनै छाड्यो



काठमाडौं- यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

शनिबार राति ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत पाएको छ । ११ लाख २४ हजार ५४३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार ६३८ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९४६ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ५२३ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार ३६२ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६६२ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २८१ मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

अहिलेसम्म एक करोड चार लाख २० हजार १२५ मत गनिएको छ । यसक्रममा राष्ट्रिय पार्टी बन्न संघर्षरत एकीकृत समाजवादीको मत थपिनेक्रम सुस्त देखिएको छ ।

शनिबार बेलुका ७ बजेसम्म सो पार्टीले दुई लाख ९४ हजार ३२५ मत पाएको थियो । पछिल्लो विवरणअनुसार ३७ मत मात्र थपिएको छ । अरू ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्रको मत तुलनात्मक रूपमा बढी थपिएको छ । एकीकृत समाजवादीको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको मत पनि बढी थपिएको छ । एकीकृत समाजवादीको राष्ट्रिय दलको मान्यता पाउन आवश्यक मत पुगिसकेको छैन ।