संघीय समाजवादी फोरमका नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संघीय समाजवादी फोरमका नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरे



हिमाल पोष्ट /२२ मंसिर, काटमाठौं । संघीय समाजवादी फोरम नेपालले वर्तमान समयमा संविधानमा रहेका अधिकारको संस्थागत एवं कार्यान्वयन गर्नुपर्ने संविधानविपरीत निर्णय गरेको भन्दै नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।

तीनकुनेस्थित फोरमको कार्यालयमा पुगेर मंगलबार नौ नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

यो घटनासँगै फोरममा तीव्र ध्रुवीकरणको संकेत पाइएको छ । तराई–मधेसमा अन्य मधेसवादी पार्टीबाट नेता–कार्यकर्ता भित्र्याउने अभियानमा लागेका अध्यक्ष उपेन्द्र यादव आफ्नै पार्टीका नेतालाई पार्टीमा राख्न भने असमर्थ बनेका छन् । वर्तमान समयमा संविधानमा प्राप्त उपलब्धि संस्थागत एवं कार्यान्वयन गर्दै आर्थिक समृद्धितिर जानुपर्नेमा पार्टी नेतृत्वले ध्यान नदिएको आरोप परित्याग गर्ने नेताहरूले लगाएका आजको राजधानीमा समाचार छ ।

बहुल राष्ट्रियतायुक्त नेपालको जातीय सद्भाव कायम गर्दै सामाजिक र राजनीतिक रूपमा एकताबद्ध भई अघि बढ्नुपर्ने आजको अपरिहार्यता रहेको फोरम परित्याग गर्नेमध्येका एक राजेन्द्र खनालले बताए ।

‘नेपाली जनताको पटक–पटकको ऐतिहासिक जनआन्दोलनहरूद्वारा प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक र समोशीकरणको सफल कार्यान्वयन गर्दै आर्थिक समृद्धितिर जानुपर्ने आवश्यकता रहेको छ,’ खनालले  भने, ‘अहिले संविधानको व्यावहारिक कार्यान्वयनमा देखिएका समस्यालाई समाधान गर्न आवश्यकता र औचित्यका आधारमा संशोधन गर्दै जान सकिने सबल पक्ष रहँदारहँदै राजनीतिक स्वार्थको निम्ति पार्टीले संविधान संशोधनलाई समेत अस्वीकार गरिरहेको छ ।’

पार्टीका उपमहासचिव अभिषेकप्रताप शाहले मधेस प्रदेश टुक्र्याएर अलग राज्य बनाउने अभिव्यक्ति दिँदा समेत पार्टी नेतृत्वले कारबाही नगर्नुले सिंगो मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन र संघीयताको सफल कार्यान्वयनमाथि नै प्रश्न चिह्न खडा भएको अर्का नेता टोपबहादुर ओलीले बताए ।