संविधान कार्यान्वयन र निर्वाचनका लागि संशोधनको प्रस्ताव ल्याएको : उपप्रम निधि - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

संविधान कार्यान्वयन र निर्वाचनका लागि संशोधनको प्रस्ताव ल्याएको : उपप्रम निधि



हिमाल पोष्ट / भक्तपुर, १९ मङ्सिर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र निर्वाचनका लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायणमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको मुलाकोट गढीे महाँकाल त्रिशूलडाँडा परिसरलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न आजदेखि सुरु भएको श्रीमद्भागवत धान्यान्चल ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयोे ।

मन्त्री निधिले सरकारले एकलौटी ढङ्गले संसदमा संविधान संशोधन विधेयक नल्याएको दाबी गर्दै भन्नुभयो, “सुशील कोइराला प्रधानमन्त्री भएकै बेलामा भएको सहमतिमा तयार भएको संविधान संशोधनको दस्तावेजलाई अहिलेको सरकारले ल्याएको हो, जुन दस्तावेजमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ, त्यतिखेर यही संशोधन प्रस्ताव राष्ट्रवादी हुने र अहिले त्यही दस्तावेज राष्ट्रघाती कसरी हुनसक्छ ? हामी भ्रममा पर्नु हुँदैन ।”

उहाँले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको बताउँदै संविधान कार्यान्वयनको वातावरण तयार पार्नकै लागि सबैले स्वीकार्ने संविधान बनाउन संसद्मा संशोधन विधेयक दर्ता भएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री निधिले भन्नुभयो, “पुनःनिर्माण कार्यलाई छिटो गर्न र भूकम्पपीडितलाई अनुदान छिटो वितरण गर्न सरकारले प्राधिकरण गठन ग¥यो तर अहिले प्राधिकरणले कामै गर्न सकेन, सरकारको हात कानुनले बाँधेको छ, प्राधिकरणका प्रमुखलाई न फाल्न सक्छ, न त काममा लगाउन नै सक्छ ।”

कार्यक्रममा उहाँले महायज्ञ स्थलमा गुरु गोरखनाथ मन्दिरको निर्माणका लागि रु पाँच लाख प्रदान गर्नुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, सांसद रामेश्वर ढुङ्गेल, महायज्ञका गुरु एवम् कथावाचक अर्जुनप्रसाद अधिकारीलगायतले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आयोजना भएको महायज्ञ सफल पार्नुपर्ने बताउनुभयो ।

पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्दा गढीका रुपमा प्रयोग भएको यस मुलाकोट गढीलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनाउने, गुरु गोरखनाथको विशाल मन्दिर, पाटी, सत्तल, सिँढी, धारालगायत भौतिक पूर्वाधारको निर्माण गर्न करिब रु पाँच करोडको गुरुयोजना तयार पारेको र त्यसैलाई सहयोग पु¥याउन महायज्ञको आयोजना भएको ज्ञानमहायज्ञ मूल आयोजक समितिका संयोजक कृष्णलाल भँडेलले बताउनुभयो । महायज्ञ २८ गतेसम्म सञ्चालन हुनेछ । रासस