संविधान दिवसमा २८२ जनालाई आममाफी, संविधान संशोधन नहुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संविधान दिवसमा २८२ जनालाई आममाफी, संविधान संशोधन नहुने



काठमाडौं- सरकारले संविधान दिवसको अवसरमा शुक्रबार दुई सय ८२ जनालाई माफी दिने भएको छ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २७६ अनुसार भीमबहादुर शेर्पासमेत दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए।

प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले तत्काल संविधान संशोधनको अवस्था नरहेको पनि बताएका छन्।

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बिहीबार प्रवक्ता बाँस्कोटाले कसैले सपना देख्दैमा संविधान संशोधन नहुने टिप्पणी गरे।

‘यो संविधान जनताले ल्याएका हुन्, जनताले लडाइँ लडेर ल्याएको हो,’ उनले भने, ‘जनताले ल्याएको संविधान भएकोले यसको कार्यान्वयन सरकारले मात्र होइन जनताले पनि गर्नुपर्छ। जनता दर्शक मात्रै बन्न सक्दैनन्।’

उनले संविधान संशोधन गर्न पनि सकिने बताए। तर त्यसका लागि औचित्य पुष्टि हुनुपर्ने उनको भनाइ छ।

‘औचित्य पुष्टि भए संशोधन हुन्छ नभए संविधान चलेकै छ चलिरहन्छ,’ उनले भने।

संविधान कार्यान्वयनभन्दा पहिला संशोधनको हतार गर्न नहुने उनले बताए।

‘कार्यान्वयनभन्दा पहिला संशोधनको हतारोमा किन जानुपर्यो?,’ पत्रकारले सोधेको प्रश्नमा जवाफ दिएका उनले थपे, ‘हरेक रात दसौं हजार सपना निस्कन्छ, देखिन्छ त्यो सबै कहाँ पूरा हुन्छ?’

बिहीबार प्रतिनिधिसभा संसदमा बोलेका समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका सांसद बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद राजेन्द्र महतोले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्ने बताएका थिए।

महतोले शुक्रबार दिपावलीको सट्टा ७० प्रतिशत नेपालीले ब्ल्याकआउट गर्ने पनि दाबी गरेका थिए।