क्वारेन्टाइन संचालनको लागि व्यवस्थापन समिती गठन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्वारेन्टाइन संचालनको लागि व्यवस्थापन समिती गठन




विशाल पाण्डेय/कैलाली
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले पनि क्वारेन्टाइन संचालनमा ल्याइएको छ । घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी क्याम्पसको हलमा बुधबारदेखि करिब ३५ बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो ।

यस अघिनै नगरपालिकाले १३ बेडसहितको परामर्श केन्द्र संचालनमा ल्याएपनि नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई परामर्श पश्चात् राख्नको लागि क्वारेन्टाइन संचालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए ।

नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइन संचालन तथा व्यवस्थापनका लागि शुक्रबार समिति समेत गठन गरिएको छ । घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहीको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको हो । जसको सदस्यमा क्रमश: लक्ष्मी प्रसाद भट्टराई , दुर्गा प्रसाद गौतम ,टेकराज आचार्य ,होम प्रसाद आचार्य ,रमेश आचार्य , चादँनी आचार्य, वीर बहादुर चन्द , सिद्ब आचार्य, वक्त कुमार शाही ,दिनेश लामिछाने, मीन बहादुर धामी र सशस्त्र प्रहरीबाट एक जना गरि कुल १३ जनाको समिति गठन गरिएको छ ।

क्वारेन्टाइनमा राखिएको मानिसहरुमा स्वास्थ्य , खाना , लत्ताकपडा ,पानी , सरसफाइ लगायतका कुराहरुमा एकदमै ख्याल गर्नु पर्ने भएको हुँदा समिती गठन गरिएको घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेशराज रेग्मीले बताए । उनले क्वारेन्टाइनका लागि आवश्यक कुराहरु उक्त समितीले पूरा गर्ने बताए ।

क्वारेन्टाइनको लागि नि:शुल्क घर

घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहीले क्वारेन्टाइन निर्माण गर्नको लागि आफ्नो नयाँ बनेको घर उपलब्ध गराउने बताएका छन् ।

अध्यक्ष शाहिले शुक्रबार क्वारेन्टाइनको व्यवस्थापनका लागि छलफल कार्यक्रममा पुर्व पश्चिम राजमार्गको छेउमै रहेको १५ कोठासहितको भवन उपलब्ध गराउने घोषणा गरेका हुन् । कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई अलग्गै राख्नुपर्ने र त्यसको लागि भवन अभाव भएको हुनाले आफुले क्वारेन्टाइनको लागि घर उपलब्ध गराएको बताए । क्वारेन्टाइनमा बस्नको लागि आवश्यकता अनुसारको शौचालय , खानेपानी पनि रहेको जानकारी दिए ।

सुदुर पश्चिम प्रदेशमा अहिलेसम्म कोरोना रोगको संक्रमण नभेटिएपनि छिमेकी मुलुक भारतबाट ज्याला मजदुरी गरेर फर्किने नेपालीहरुको लहरले गर्दा सुदुर पश्चिमको कैलाली पनि कोरोना रोग संक्रमणको उच्च जोखिममा रहेको छ । यसको लागि प्रदेश तथा स्थानीय सरकारले भारतबाट फर्किएका नेपालीहरुको स्वास्थ्य चेकजाँच गरि क्वारेन्टाइनमा राख्न आवश्यक छ ।