समिट होटलमा साढे ४ घण्टा छलफल: ओलीको विज्ञप्तिमा केन्द्रित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

समिट होटलमा साढे ४ घण्टा छलफल: ओलीको विज्ञप्तिमा केन्द्रित



काठमाडौं– नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कुरा नमिलेपछि विवाद मिलाउन दोस्रो तहका नेताहरु जुटेका छन् । मंगलबार साँझ ललितपुरको समिट होटलमा करिब साढे ४ घण्टा छलफल भएको छ ।

मंगलबार अपराह्न सुरु भएको वार्ता बेलुकी ९ बजे सकिएको थियो। बैठकबाट बाहिरिने क्रममा नेता सुवास नेम्वाङले पार्टी एकताको लागि छलफल र वार्ता जारी रहेको प्रतिक्रिया दिए। उनले छलफल चलिरहेको बताए। ‘पार्टी एकताको पक्षमा हामीबीच निरन्तर छलफल चलिरहेको छ। यो जारी रहन्छ। पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने नै सबैको धारणा रहेको छ,’ उनले भने।

वार्तामा माधव नेपाल पक्षबाट सहभागी नेता बिष्टले पार्टी एकतालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नै वार्तामा छलफल भएको जानकारी दिए। ‘सबैको धारणा एकतालाई जोगाउने भन्ने नै छ,’ उनले भने।

छलफलमा संस्थापन अर्थात् केपी ओली पक्ष र असन्तुष्ट समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। बैठकमा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाललगायत नेताहरुको सहभागिता थियो।

अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै ०७५ जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अस्वीकार गरेको थियो ।

मंगलबार भएको छलफलमा राम्रो प्रगति भएको स्रोतले जनाएको छ । बैठकमा खासगेरी अध्यक्ष ओलीले पछिल्लो समय सार्वजनिक गरेको विज्ञप्ति र त्यसमा भएको अस्पष्ट बिषयमा छलफल भएको थियो । छलफलमा नेपाल समुहका नेताहरूले अध्यक्ष ओलीले अझै पनि शब्दशब्दमा फसाउन खोजेको, पार्टी एकता गर्न भन्दै विज्ञप्ति सार्वजनिक गरेर थप चिढाएको भन्दै यस्तो नगर्न आग्रह गरेका थिए ।

माधव नेपाल समुहले वैकल्पिक कम्युनिस्ट मोर्चा बनाउने तयारी गरेकै बेला नेताहरू सघन छलफलमा जुटेका छन् । नेताहरूले नेतृत्वसंग छलफल गरेपछि फेरी छलफल गर्ने बताइएको छ ।