प्रचण्डसँग एकतापछि भएका सबै सहमति अन्त्य भए: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रचण्डसँग एकतापछि भएका सबै सहमति अन्त्य भए: प्रधानमन्त्री ओली



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतापछि अहिलेसम्म भएका सबै सहमति र समझदारी अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सचिवालय बैठकमा यस्तो बताएका हुन् । बैठकमा बोल्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षबीच सल्लाह नै नगरी एकल रूपमा ल्याएको प्रस्तावको कारण यसअघिका सबै सहमति र समझदारी अन्त्य भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा गर्‍यो। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो। हामीले एउटा नयाँ निकास खोज्नैपर्छ। म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई ऐक्यबद्ध राख्न सकियोस्।’

कात्तिक २८ को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यहरुको समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमा समेत प्रश्न उठाइएको छ। त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको बताउँदै आएका छन्।

उक्त प्रस्तावबारे प्रसंग निकाल्दै अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठकमा पुराना सहमति कायम रहेको अवस्था नरहेकोले नयाँ निकास खोज्नु पर्ने बताएका हुन्। उनले आफूमाथि लगाइएका आरोप सही नभए पनि बताएका छन्।

बैठकमा आफ्ना धारणा राख्दै ओलीले भने, ‘अहिले अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ त्यसो नगरिकन अगाडि जान सकिँदैन। यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन। मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ। यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु।’

प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन सिध्याउने गरी आरोपहरु लगाइएको भन्दै त्यसको जवाफ लिखित रुपमा नै दिने बताएका छन्। मिलेर मात्रै पार्टी बचाउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘ लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर पार्टी बच्दैन। सबै कुरामा पछि छलफल गरौँला। आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु । यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु।’