ट्रम्पले भने -'अमेरिकामा धेरै संक्रमित भेटिनु सम्मानको पदक हो’ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ट्रम्पले भने -‘अमेरिकामा धेरै संक्रमित भेटिनु सम्मानको पदक हो’



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका संक्रमित अमेरिकामा सबैभन्दा धेरै देखिनुलाई ‘सम्मान’ का रुपमा चित्रित गेका छन् ।

ह्वाइट हाउसमा उनले भनेका छन्, ‘मैले यसलाई वास्तवमै सम्मानको रुपमा हेर्छु, किनकी यसले हाम्रो परीक्षण अरुको भन्दा अति राम्रो छ भन्ने देखाउँछ ।’

अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख २७ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९१ हजार ८ सय भन्दा बढी छ ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमितको संख्या रुपमा देखिएको छ । त्यहाँ तीन लाख मानिसमा संक्रमण पुष्टि भएको छ भने २८ सय भन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक सोमबार बोलाएका ट्रम्पले आफूहरुको परीक्षण धेरै रहेको बताएका हुन् ।

उनले पत्रकारसँग भनेका छन्, ‘जब तपाईँहरुले अमेरिकामा संक्रमितको संख्या विश्वमै सबैभन्दा धेरै छ भन्नु हुन्छ, त्यो यसकारण भएको हो कि हामीले अरु सबैले भन्दा धेरै परीक्षण गरेका छौँ ।’

उनले भने, ‘तसर्थ जब तपाईँहरुले धेरैमा संक्रमण भएको भन्नुहुन्छ, मैले त्यो रुपमा हेर्दिन, म त्यसलाई सम्मानको रुपमा लिन्छु, यसको अर्थ हाम्रो परीक्षण अति राम्रो छ ।’

उनले थपे, ‘म यसलाई सम्मान स्वरुप दिइएको पदकका रुपमा लिन्छु । वास्तवमै यो सम्मानको पदक हो ।’ अमेरिकामा मंगलबारसम्म एक करोड २६ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भएको छ ।

कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको छ । तर कुल जनसंख्या र परीक्षणको दरमा भने अमेरिका निकै पछि रहेको छ । प्रति एक हजार व्यक्तिमा गरिएको परीक्षणमा अमेरिका १६ औँ स्थानमा छ । दक्षिण कोरिया भन्दा अघि रहे पनि आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस र क्यानडा भन्दा अमेरिका पछि छ ।