संसद् बैठक आज पनि बस्दै: संसदमा झनै सशक्त बन्ने रणनीतिमा एमाले - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संसद् बैठक आज पनि बस्दै: संसदमा झनै सशक्त बन्ने रणनीतिमा एमाले



काठमाडौं- प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र राष्ट्रयसभा दुबै सदनका बैठक बस्दैछन् ।

सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र नाराबाजीका बाबजुत शुक्रबार मात्र प्रतिस्थापन बजेट ल्याएको थियो, भने त्यसको अघिल्लो दिन राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको थियो ।

एमालेले पार्टीका तत्कालीन १४ सांसद्को कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै रुष्ट छ । दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले निरन्तर सदनमा विरोध गर्दै आएको छ ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले पनि सदनमा विरोध कायमै राख्ने तर संसदीय मर्यादाको ख्याल गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।

एमाले सांसद नारदमुनी रानाले संसदमा भइरहेको विरोधको जिम्मेवार सभामुख सापकोटा रहेको बताए । ‘सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न दिँदैनौ, आजको बैठकमा पनि अवरोध गर्छौँ,’ उनले भने ।

सभामुख सापकोटाले भने अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा छलफल हुन नसक्ने बताउँदै आएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। रेल्वे अध्यादेश, २०७८ लगायतका दर्जन अध्यादेश पेस गर्ने कार्यसूची छ ।