संसदमै सत्तापक्षका सांसदको जुहारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

संसदमै सत्तापक्षका सांसदको जुहारी



काठमाडौं : मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा व्यक्त गरेका विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच जुहारी चलेको छ।

संवैधानिक मूल्य–मान्यताप्रति मन्त्रीहरू जवाफदेही नभएको भन्दै सत्तापक्षकै सांसदले दोहोरी खेल्दा सभामुख देवराज घिमिरे मौन बसे।

चालू अधिवेशनमा पहिलो पटक शून्य र विशेष समय बुधबारआरम्भ भएको हो। विशेष समय सुरुवात भएकै दिन बैठक सञ्चालनको सुशासनमा प्रश्न उठेको छ। माघ १० गते राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा रहेर संघीयताविपरीत मन्त्रीहरूले दिएका अभिव्यक्ति स्पष्टीकरणका विषय भएको बताएका थिए। भोलिपल्टै शहरी विकासमन्त्री विक्रम पाण्डेले चितवनमा प्रधानमन्त्रीको भनाइविपरीत अभिव्यक्ति दिएको भन्दै एमालेका सांसद रघुजी पन्तले बुधबार सदनमा विषय प्रवेश गराए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो विचार बोक्न स्वतन्त्र भए पनि मन्त्रिपरिषदमा रहेर संवैधानिक व्यवस्थाविपरीत मन्त्रीहरूका अभिव्यक्ति भने उचित नभएको बताए। संविधानका आधारभूत विषयमा प्रधानमन्त्री र मन्त्रीहरूबीच विवाद हुनु राम्रो संकेत नभएको पनि उनले बताए।

‘पार्टीको आफ्नो विचार होला तर सरकारमा बसेर यस्ता विषय नउठाउनुहोस्। यी विषय मन्त्रिपरिषदमै उठाउनुस्’, पन्तले भने, ‘संघीयता र धर्म निरपेक्षताका विवादका लागि हामीले विश्वासको मत दिएको होइन।’

पन्तको भनाइमा समर्थन गर्दै माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले पनि संविधानको मूल्य–मान्यताविपरीत मन्त्रीको टिप्पणी स्वीकार्य नहुने बताए। ‘संविधान कार्यान्वयन गर्ने संस्था हो सरकार र मन्त्रिपरिषद्का सदस्यहरू। संविधानको मूल्यमान्यताभन्दा बाहिर गएर टिप्पणी गर्नु स्वीकार्य हुन सक्दैन’, उनले भने, ‘सडकमा यी विषय स्वीकार्य होलान् पनि। अब यस्ता प्रकारका गल्ती आगामी दिनमा नहोऊन्, यी कुरा सच्याइयोस्।’

पन्त र बस्नेतको अभिव्यक्तिलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पन्त र बस्नेतको भनाइमा आपत्ति जनाए। शाहीले सदनमा समेत यस्ता विषय उठाउन पाउनुपर्ने माग राखेसँगै पन्त र बस्नेतले पुनः आपत्ति जनाए। तर सभामुखले न शाहीलाई के विषयमा आपत्ति भनेर सोधे न त पन्त र बस्नेतसँग विषयबारे जानकारी मागे। बस्नेत र पन्त दुवैले आपत्ति जनाएपछि शाहीले आफ्नो अभिव्यक्ति अन्त्य गरे। सभामुखले भने आफूले शाहीको कुरा मात्र सुनेको बताए।

त्यसपछि बोल्ने समय पाउनुभएका राप्रपाकै धवलशमशेर राणाले संविधानको व्यवस्थाभित्रै रहेर आफ्ना विषय उठाउने बताए। ‘राप्रपा सानो होला तर जनताको मनमा भिजेको छ। हिन्दु धर्म र राजासहितको प्रजातन्त्रको पक्षमा हामी छौँ। हामी संविधानभित्र बसेर हाम्रा विषय उठाउँछौँ।’ बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ ।