सांसदहरू पक्राउ पर्ने क्रम जारी: के हुन लागेको ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सांसदहरू पक्राउ पर्ने क्रम जारी: के हुन लागेको ?



काठमाडौँ — निवर्तमान सभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास आरोपमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै असोज १९ गते पक्राउ परे ।

उनको दसैं महानगरीय प्रहरी वृत्त सिंहदरबार र थापाथलीस्थित नर्भिक अस्पतालमै बित्यो । त्यसको ८ दिन बित्न नपाउँदै असोज २६ गते कांग्रेस सांसद मोहम्मद आफताब आलम १२ वर्षअघिको व्यक्ति हत्यासम्बन्धी प्रकरणमा रौतहटबाट पक्राउ परे । आलम पक्राउको पर्सिपल्ट मंगलबार राजपाका सांसद प्रमोदकुमार साह विमानस्थलमा तोडफोड गरेको आरोपमा काठमाडौंबाटै पक्राउ परेका छन् ।

महरा र आलमलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ । मंगलबार पक्राउ परेका सांसद साहलाई समय अभावका कारण अदालतमा पेस गर्न बाँकी छ । बुधबार उनलाई अदालतबाट म्याद थपेर कसुरमाथि अनुसन्धान गरिने धनुषा प्रहरीले जनाएको छ ।

कानुन निर्माण गर्ने तहमा रहेका ३ सांसद १० दिनको अवधिमा पक्राउ परेका हुन् । निवर्तमान सभामुख महरालाई पक्राउ गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अपराधमा संलग्नलाई अनुहार नहेरी कानुनी दायरामा ल्याउन’ प्रहरीलाई निर्देशन दिएका थिए ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा प्रहरी हिरासतमै छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राखेर आरोपमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । आलम २०६४ चैत २७ गतेको बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जलाएर हत्या गरेको अरोपमा पक्राउ परेका हुन् । जनकपुर विमानस्थलस्थित ‘बुद्ध एयर’को काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नागरिक उड्डयन प्राधिकरणको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।

बलात्कार प्रयासको कसुरमा महरामाथि मुलुकी अपराध संहिता (ऐन) २०७४ को दफा २२४ अनुसार अनुसन्धान भइरहेको छ । कसुर प्रमाणित भए महरालाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । व्यक्ति हत्या अभियोगमा पक्राउ परेका सांसद आलमविरुद्धको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुन सक्छ ।

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले आलमलाई अदालतबाट ७ दिन म्याद थप गराएर हिरासतमा राखिएको बताए । ‘मुलुकी फौजदारी अपराध ऐनअनुसार उनीमाथि कर्तव्यज्यान कसुरमा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने । धनुषा प्रहरी प्रमुख एसपी खनालका अनुसार सांसद साहमाथि गैरसैनिक हवाई उडान ऐन २०१५ अनुसार विमानस्थलमा तोडफोड तथा आक्रमण गरेको अभियोगमा अनुसन्धान थालिएको छ । हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको अपराधसम्बन्धी कसुर प्रमाणित भए साहविरुद्ध १० वर्षसम्म कैद सजाय हुन सक्छ ।

भ्रष्टाचार र कर्तव्यज्यान कसुरमा थप ३ सांसद पनि विभिन्न अपराधमा आरोपित छन् । राजपा सांसद रेशम चौधरी २०७२ भदौ ७ गत टीकापुर हत्याकाण्डको अभियोगमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई कैद झुक्तानका क्रममा छन् । उक्त घटनालाई पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगले राजनीतिक आन्दोलन भने पनि अदालतले चौधरीलाई घटनाको योजनाकारका रूपमा दोषी ठहर गरेको थियो ।

संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार र नेकपाका सांसद नारदमुनि रानामाथि भ्रष्टाचार आरोप लागेको छ । पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियार विरुद्ध पूर्वाधार निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा २०७५ असोजमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कूटनीतिक राहदानी दुरुपयोगको आरोप लागेका नेकपा सांसद रानाले विशेषबाट सफाइ पाए पनि मुद्दा सर्वोच्चमा विचाराधीन छ । कान्तिपुरमा खबर छ