संसदको बैठक आज , निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संसदको बैठक आज , निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने



काठमाडौँ, ११ माघ ।
व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा आज अपरान्ह ३ बजे बस्ने बैठकमा आज निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने कार्यसुची रहेको छ ।

राज्य व्यवस्था समितिले पारित गरेको मतदाता नामावलीसम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी एकीकरण गर्न बनेको विधेयक २०७३ लाई आजको संसद बैठकमा पेश गर्ने तयारी गरिएको हो ।

मतदाता नामावलीसम्बन्धी विधेयकमा सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटोसहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै निर्वाचन आयोगसम्बन्धी विधेयकमा निर्वाचनको मिति सरकारले नै तोक्ने प्रावधान राखिएको छ । तर मिति तोक्नुपूर्व निर्वाचन आयोगको परामर्शलाई अनिवार्य गरिएको छ ।
ती दुवै विधेयक संसद्मा आज पेस गरिने समितिका सदस्य डा गङ्गाधर तुलाधरले जानकारी दिनुभयो ।

समितिमा पर्याप्त छलफल भएको हुनाले ती दुवै विधेयकमाथि दलीय आधारमा छलफल गरेर छिट्टै पारित गर्ने राजनीतिक दलले तयारी गरिरहेका छन् । समितिले निर्वाचनसँग सम्बन्धित विधेयकको कामलाई छिटो पूरा गर्न उपसमिति बनाएर काम गरिरहेको छ ।

उपसमितिमा हाल राजनीतिक दलसम्बन्धी विधेयकमाथि गहनरुपले छलफल भइरहेको छ ।