मिलेमतोमा सामुदायिक वन मासिँदै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मिलेमतोमा सामुदायिक वन मासिँदै



पर्वत ।

बस्ती नजीकैको सामुदायिक वन संरक्षणका लागि गठित समितिले नै वन मास्न सक्रिय भएपछि जलजला गाउँपालिका–७ धाइरिङको सल्लेरी सामुदायिक वन उजाड भएको छ । २०५५ मा दर्ता भएको ६२ हेक्टर क्षेत्रफलको सामुदायिक वनका ठूल्ठूला रुख २ वर्षयता धमाधम हराउन थालेका छन् । रुखहरू रातारात हराउन थालेपछि वन विनाशमा समितिकै मुख्य पदाधिकारीहरूको संलग्नता रहेको खुल्न थालेको छ ।

गाउँसम्म मोटरबाटो पुगेपछि बेनी, बाग्लुङ, कुश्मादेखि पोखरासम्मका फर्निचर सञ्चालकहरू गाउँमा ट्रक र ट्याक्टर लिएर पुग्ने गर्छन् । समितिका पदाधिकारीहरूसँग कुरा मिलाएर रातारात ठूल्ठूला रुख गायब पार्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ । ‘एउटा नाम्लाले घेरा नपुग्ने रुख थिए ।

दिनदिनै ४/५ ओटा त्यस्ता रुख गायब भएका छन्,’ स्थानीय टेकनारायण आचार्यले भने, ‘यस्तो हुन थालेको २ वर्ष भइसक्यो । यो कसले हेर्ने ?’ गएको वर्ष वनका दुई तिहाइ ठूल्ठूला रुख काटिएको उनले बताए ।

समुदायमा हस्तान्तरण गरेपछि २०७० सम्म वनको राम्रो संरक्षण भएको थियो । गाउँमा मोटरबाटो पुगेपछि एकाएक रुख मासिँदै गएको स्थानीय बताउँछन् । ‘रुख बेचेको आम्दानी कतै देखिएको छैन,’ स्थानीय शिव आचार्यले भने, ‘जङ्गल सबै उजाड भइसक्यो ।’ अधिकांश सल्लो र सालका रुख मासिएको उनले बताए । ठूल्ठूला साल र सल्लाका रुखहरू कहाँ र कति मूल्यमा विक्री हुन्छन् भनेर समितिको बैठकमा समेत कसैले कुरा उठाउन नसकेको आचार्यले बताए ।

वन मासिँदै गएपछि त्यहाँका वन्यजन्तुसमेत लोप भएका छन् । आसपासमा पानीका मूल सुक्ने र गाउँमा पहिरो खस्ने खतरा उत्तिकै भएको स्थानीय नवराज आचार्यले बताए । ‘पहिला पनि पहिरो गइराख्ने ठाउँ हो,’ उनले भने, ‘जङ्गल बढेपछि केही रोकिएको थियो, अहिले फेरि जोखीम बढेको छ ।’

वन मासिएकोबारे जिल्ला वन कार्यालयमा जानकारी गराए पनि कार्यालयले कारबाही नथालेको स्थानीयको गुनासो छ । समूहका पदाधिकारी भने काठ बाहिर विक्री नगरेको दाबी गर्छन् । ‘बाहिर काठ विक्री गरेको भन्ने हल्ला मात्रै हो,’ समितिका अध्यक्ष बन्धे नेपालीले भने, ‘उपभोक्ताहरूकै आवश्यकता पूरा गर्न काटिएको हो ।’

वनमा खेर जाने र पुराना रुखहरू मात्रै काटिएको उनले दाबी गरे । जिल्ला वन कार्यालयले अहिलेसम्म उजुरी नपरेकोले छानबिन र कारबाही गर्न नसकिएको बताएको छ । ‘उजुरी आएपछि मात्रै हामीले कारबाही गर्ने हो,’ जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकालले भने, ‘त्यहाँबाट अहिलेसम्म उजुरी गर्न कोही आएकै छैन ।’