कस्तो बनाउलान् प्रधानन्यायाधीशले संवैधानिक इजलास ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कस्तो बनाउलान् प्रधानन्यायाधीशले संवैधानिक इजलास ?



काठमाडौं- मन्त्रिपरिषदको सिफरैमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि विघटित संसदलाई पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री घोषणा गर्न विपक्षी गठबन्धनले रिट दायर गरेपछि अहिले सबैको नजर सर्वोच्च अदालततिर छ ।

सर्वोच्चमा दर्ता भएको रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। हरेक बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेपनि बुधबार सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो।

शुक्रबार यो विवादमा पहिलो सुनुवाइ हुनेछ। संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यहि रोस्टरबाट आफूसहित पाँचजना न्यायाधीशको इजलास तोक्न सक्नेछन ।

संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले भने यो मुद्दा हेर्न मिल्दैन। अघिल्लोपटक प्रतिनिधि सभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेकाले यो विवादमा पनि उनी संलग्न हुने छैनन्। कार्की नहुने भएपछि अब १३ जना न्यायाधीश मध्येबाट चार जना राणाले आफ्नो टिममा सामेल गर्नेछन ।

प्रधानन्यायाधीश राणाले वरिष्ठताक्रम नामिचेको खण्डमा संवैधानिक इजलासको लागि दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई नयाँ संवैधानिक इजलासको सदस्य हुने देखिन्छ। तर पहिलेको आधारमा हेर्नेहो भने वरिष्ठताक्रम मिचिने देखिन्छ ।

पुस ५ गते संसद विघटन भएपछि सुनुवाइका लागि पुस १० गते प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरिएको थियो। तर गठन गरेपछि इजलास गठनप्रति प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका थिए । उनको सट्टामा न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासमाइन्ट्री पाएकी थिइन् ।

अघिल्लोपटक संवैधानिक इजलासमा संलग्न भएका चार न्यायाधीशलाई तोक्ने कि नतोक्ने प्रधानन्यायाधीशको अधिकारभित्र पर्नेछ । तर उनीहरूले आफ्नो राय अघिल्लो पटक नै राखेकाले इजलासमा नबस्ने घोषणा ती न्यायाधीशहरूले गर्नसक्ने बताइन्छ । यदि यस्तो भएको खण्डमा सुनुवाइ फेरि सर्नेछ र प्रधानन्यायाधीशले अर्को दिन नयाँ न्यायाधीशसहितको इजलास गठन गर्नेछन्।

प्रधानन्यायाधीशले नयाँ तोक्न चाहेमा तोकिने न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहने छन्।