सन्दीपलाई १२ वर्ष कैद माग गर्दै प्रहरीले बुझायो फाइल, फाइलमा के छ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सन्दीपलाई १२ वर्ष कैद माग गर्दै प्रहरीले बुझायो फाइल, फाइलमा के छ ?



बलात्कार मुद्दामा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान प्रहरीले टुंग्याएको छ। लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ।

सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको बताएका छन् । सन्दीपविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ । त्यसै अनुसार उनलाई १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ।

प्रलोभनमा पारेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपले बलात्कार गरेको पुष्टि भएको दाबी प्रहरीले गरेको छ । प्रहरीले १२ वर्षसम्म कैद सजाय मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो।

शुक्रबार नै अनुसन्धानको फाइल सरकारी वकिल पुगे पनि सोमबारबाट तिहारको बिदा भएकाले तिहारपछि मात्रै थुनछेक बहस हुने सम्भावना रहेको छ। सरकारी वकिल कार्यालयले भने आज आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी थालेको छ।

अदालतले थुनछके बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ। १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।