चारैतिर सन्दीपकै छ चर्चा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चारैतिर सन्दीपकै छ चर्चा



काठमाडौं- चर्चित क्यारेबियन प्रिमियर लिगका कारण अहिले चारैतिर सन्दीप लामिछानेको चर्चा भैरहेको छ । विश्वकै उत्कृष्ट मध्यका एक नेपालका लेग स्पिनर सन्दीप लामिछाने तेस्रोपटक चर्चित क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् ।

उनी लगातार तेस्रोपटक ड्राफ्टमा परेका हुन् । यसपटक उनको मूल्य ९० हजार डलर राखिएको छ । जसअनुसार सन्दीपलाई भित्र्याउन कम्तीमा एक करोड आठ लाख नेपाली रुपैयाँ खर्चिनुपर्ने हुन्छ । टी–२० फ्रेन्चाइज करिअरमा सन्दीपले दोस्रोपटक एक करोड रुपैयाँ भन्दामाथि भाउ राखेका हुन् ।

यसअघि इंग्ल्यान्डमा आयोजना हुने भनिएको ‘द हन्ड्रेड बल’मा सन्दीप एक लाख पाउन्डमा अनुबन्धित भएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण द हन्ड्रेड बल रद्द भएको छ ।सिपिएलको इतिहासमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियस तथा बार्बाडोसबाट प्रतिस्पर्धा गरिसकेका छन् ।

सेन्ट किट्सबाट पहिलो सिजनमा प्रतिस्पर्धा गर्दा सन्दीपले सात विकेट र बार्बाडोसबाट खेल्दा उनले आठ विकेट हात पारेका थिए । सन् सन् २०२० को सिजनका लागि सिपिएलले बुधबार राति नै भर्चुअल ड्राफ्ट आयोजना गर्दै छ ।

यसपटक २३ राष्ट्रका पाँच सय ३७ खेलाडीले सिपिएलको ड्राफटमा नाम समावेश भएका छन् । आयोजक क्यारेबियन क्रिकेट लिगले यसपटक प्रतियोगिता १८ अगस्टदेखि १० सेप्टेम्बरसम्म आयोजनाको प्रस्ताव राखेको छ । सरकारले स्वीकृति प्रदान गरे यो प्रतियोगिता बन्द रंगशालाभित्र हुने जनाइएको छ ।

कोभिड– १९ का कारण केही चर्चित खेलाडी ड्राफ्टअगाडि नै अनुबन्धित भइसकेका छन् । अफगानिस्तानका लेग स्पिनर रसिद खान बार्बाडोसमा अनुबन्धित भएका छन् । गुएना बारियर्सले अफगानिस्तानकै काइस अहमेदलाई भित्र्याएको छ । यसैगरी दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिले रोसोउ सेन्ट लुसियाबाट खेल्ने पक्का भएका छन् ।

न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सेल्फेर्टलाई ट्रिन्वागो नाइट राइडर्सले किनेको छ । यसैगरी दक्षिण अफ्रिकाका स्पिनर टाब्रिज सम्सी जमैकामा आबद्ध भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । पाकिस्तानका अलराउन्डर सोएव मलिक पुनः एकपटक वारियर्सबाट खेल्ने भएका छन् ।

यसपटक भारतका ४८ वर्षीय प्रवीण ताम्बे पनि ड्राफ्टमा परेका छन् । मुम्बईका पूर्वखेलाडी ताम्बे सन् २०१८ को टी–१० लिगमा प्रतिस्पर्धा गरेका थिए । यसैबीच पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदीलाई सहभागी टोलीले सम्झौता गरेका छैनन् । कोरोना भाइरसविरुद्ध लडिरहेका अफ्रिदी यसपटक ड्राफ्ट छन् । उनको मूल्य एक लाख ६० हजार डलर राखिएको छ ।

यसैगरी इंग्ल्यान्डका एकदिवसीय विश्व च्याम्पियन कप्तान इयोन मोर्गानको मूल्य एक लाख ३० हजार डलर रहेको एजेन्सीले जनाएकोछ । न्युजिल्यान्डका टिम साउथी र अस्ट्रेलियाका वेन कटिनका समान एक लाख १० हजार डलर मूल्य छन् । यसैगरी दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिस र डेभिड मिलर, अफगानिस्तानका मेहमद नावी, अस्ट्रेलयाका डिआर्च सर्ट र अफगानिस्तानका स्पिनर मुजिव उर रहमानलाई भित्राउन ९० हजार डलर खर्चिनुपर्ने हुन्छ ।

सन् २०१९ मा प्याट्रियर्सबाट कप्तानी गरेका कार्लोस बाथवेटको मूल्य ७० हजार डलर रहेको छ । उनी वेस्टइन्डिज टी–२० टोलीका पूर्वकप्तान हुन् । इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स हालेस, दक्षिण अफ्रिकाका बलर कार्गिस राडवा तथा पाकिस्तानका लेफ आम फास्ट बलर साहिन साह अफ्रिदीलाई भित्र्याउन सहभागी टोलीले कम्तीमा ६० हजार डलर खर्चनुपर्छ ।