एकै खेलमा सन्दीपले ६ विकेट लिएपछि नेपालको सानदार जीत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एकै खेलमा सन्दीपले ६ विकेट लिएपछि नेपालको सानदार जीत



काठमाडौँ- एकै खेलमा सन्दीप लामिछानेले ६ विकेट लिएपछि नेपालले पपुवा न्युगिनी बिरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेलमा १५१ रनको जित हात पारेको छ।

जितसँगै नेपालले २ खेलको श्रृंखला क्लिन स्वीप गरेको छ । यसअघि पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।

ओमानमा शुक्रबार बेलुका सम्पन्न खेलमा २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमा समेटियो। पपुवा न्युगिनीलाई सस्तोमै समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए। उनले ५.१ ओभरमा केवल ११ रन खर्चिएका थिए।

सोमपाल कामी, बिक्रम सोँब, सुसन भारीले १/१ विकेट हात पारे। पपुवा न्युगिनीले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन जोडेको अवस्थामा सन्दीपलाई १० औँ ओभरमा बलिङमा पठाइएको थियो। त्यत्तिबेला पपुवा न्युगिनीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरिसकेको थियो। तर सन्दीपले आफ्नो पहिलो ओभरमै लयमा रहेका टोनी उरालाई रनआउट गरे।

उनले आफूले बलिङ गरेका सबै ओभरमा विकेट हात पारेका थिए। १२ औँ ओभरमा १ विकेट, १४ औँ ओभरमा १ विकेट,सोह्रौँ ओभरमा १ विकेट, अठारौँ ओभरमा २ विकेट र २० औँ ओभरमा एक विकेट हात पारे। १८ औँ ओभरमा सन्दीपले एउटा छक्का व्यहोरेका थिए।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएका थिए। नेपालका लागि रोहित पौडेलले ८६ र कप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान गरेका थिए। ९ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको नेपालका लागि ज्ञानेन्द्र र रोहितबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी बनाएका थिए।

ज्ञानेन्द्र तेस्रो विकेटका रुपमा आउट भएपछि क्रिजमा आएका विनोद भण्डारीसँग रोहितले ४१ रनको साझेदारी गरेका थिए। विनोदले १७ रन जोडेका थिए।

नवौँ नम्बरमा ब्याटिङमा आएका करणले आक्रामक ब्याटिङ गर्दै २६ बलमा सात छक्का र दुई चौका प्रहार गरी करण र रोहितबीच सातौँ विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। रोहितले १ सय २३ बलमा ३ छक्का र २ चौका प्रहार गरे। नेपालले अन्तिम ६ बलमा ४ विकेट गुमाएको थियो। रोहितले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रोपटक अर्धशतक बनाएका हुन्।

श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। त्यस खेलमा रोहितले अविजित ४१ रन बनाएका थिए। अब नेपालले विश्वकप लिग २ अन्तर्गत ओमनमै ओमन र अमेरिका सम्मिलत त्रिकोणात्मक श्रृंखला खेल्नेछ। यो श्रृंखला सोमबारदेखि सुरु हुनेछ।